झापाका दुई भिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक र भद्रपुर नगरपालिका–२ स्थित बिगाउँमा मोटरसाइकलले पैदलयात्रीलाई टक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा ना.४ख ४६५६ नम्बरको ट्रकले मे.५प १८१८ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार इलाम देउमाई नगरपालिका–८ का समीर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा सोही नगरपालिका–९ का मोटरसाइकल चालक २१ वर्षीय निर्मल कट्टेल घाइते भएका छन् । घाइते कट्टेलको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी झापा भद्रपुर–२ बिगाउँस्थित भित्री सडकखण्डमा मे.२प ५६२ नम्बरको मोटरसाइकलले बिहीबार ठक्कर दिँदा सोही स्थानकी ७५ वर्षीया फुलमाया तामाङको मृत्यु भएको छ ।