ललितपुर । गरिवी निवारण कोषका उपाध्यक्ष डा. यामबहादुर थापा विरुद्ध यौन हिंसाको उजुरी परेको छ । कोषमा कार्यरत एकजना सहायकस्तरकी महिला कर्मचारीले उपाध्यक्ष थापा विरुद्ध गरिवी निवारण कोषकै संचालक समिति समक्ष उजुरी दर्ता गरेकी हुन् ।
सञ्चालक समितिका ५ जना सदस्यहरूलाई दिइएको ४ पृष्ठ लामो उजुरीमा उपाध्यक्ष डा. थापाले बैठकमै महिला अस्मितामाथि धावा बोलेको दावी गर्दै यौन हिंसाको उजुरी दिएको उल्लेख छ ।
उजुरीमा गत असार ४ गते कोषका ९ जना अधिकृतस्तरका कर्मचारी उपस्थित बैठकमा उपाध्यक्ष डा. थापाले ‘पदका लागि महिलाहरू आफ्नो इज्जत बेच्छन् । नेतासँग सुतेर सांसद हुन्छन् । सीडीओसँग सुतेर फाईदा लिन्छन्’ भनेको विषयमा महिला कर्मचारीले आपत्ति जनाउँदै उजुरी दर्ता गराएकी हुन् ।
महिला खबरलाई प्राप्त अडियो रेकर्डको ११ मिनेट १६ सेकेन्ड मा भनेका छन्, ‘मैले केही यस्ता महिला देखेको छु, जो फाईदा लिनका लागि सीडीओसँग सुते । केही महिला चिन्दछु, जो खास नेताहरुसँग गएर सुते । त्यसको आधारमा सांसद पनि भइसकेका छन् ।’
जागिर जाने डरले सो घट्ना कयौं दिनसम्म बाहिर आउन नसके पनि गत साउन २० गते कोषका सञ्चालक सदस्यहरू विजयनारायण श्रेष्ठ, नारायण कोइराला, महादेव बडु, विश्वशान्ति विष्ट र साधना घिमिरेलाई सम्बोधन गरि कोषको कार्यालयमा उजुरी गरेपछि घट्ना बाहिर आएको हो ।
सो उजुरीबारे प्रतिक्रिया लिन खोज्दा डा. थापाले केही बताउन मानेनन् । उनी बोल्नै चाहेनन् ।
कार्यस्थलमा यौनजन्य हिंसा निवारण ऐन २०७१ मा त्यस्तो हिंसा विरुद्ध उजुरी गर्न सकिने प्रावधान छ । कसुर प्रमाणित भएमा ६ महिना कैद वा पचास हजार जरिवाना वा दुबै सजाय हुनसक्ने प्रावधान छ । –महिला खबर–










