काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी नेता पद्मरत्न तुलाधार समस्त कम्युनिष्ट क्रान्तिको प्रतीक भएको बताएका छन् ।

आदिवासी जनजाति आन्दोलनका अगुवा एवं मानव अधिकारवादी आन्दोलनका वरिष्ठ ‘अभियन्ता पद्मरत्न तुलाधरको भीमरथारोहणको उपलक्षमा आयोजित शान्ति प्रक्रियामा पद्मरत्न तुलाधरको भूमिका’ विषयक गोष्ठीमा उनले तत्कालिन माओवादीलाई शान्ति प्रक्रिया ल्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनयुद्ध शुरु गरेको दुई वर्षभित्र नै आफ्नो ज्यानलाई हत्केलामा राखी आफूले लुकिछिपी पद्मरत्न तुलाधरको घरमा प्रवेश गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले १२ बुँदे सम्झौताको वातावरण तयार पार्न तुलाधर, दमननाथ ढुङ्गानाजस्ता सहजकर्ताको निर्णायक भूमिका रहेको उल्लेख गरे।

तुलाधरले भने जस्तै आन्दोलन अझै पूरा नभएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले थुप्रै असन्तुष्टिका बीच माओवादीले संविधान स्वीकार गरेको र संविधान जारी गर्दा आफूले थुप्रै ‘नोट अफ डिसेन्ट’ लेखेको बताए।

नेकपाका नेता एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले वामपन्थी नेता पद्मरत्न तुलाधरको नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका रहेको बताउँदै आफ्नो स्वार्थका लागि कहिल्यै नलाग्ने तुलाधर भूमिका प्रशंसनीय रहेको बताए।

गौतमले विसं २०४२ मा मालेको समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएका तुलाधरसहित धेरै व्यक्ति बहुदलवादका प्रतीक भएको चर्चा गरे। पूर्वसभामुख एवं वार्ता टोलीका त्यसबेलाका सहजकर्ता दमननाथ ढुङ्गानाले पद्मरत्न तुलाधरले आफ्नो जीवन जनताका पक्षमा समर्पित गर्नुभएको चर्चा गर्दै उनले तुलाधरले निरंकुश शासनविरुद्ध लड्नुका साथै जनतालाई त्यसविरुद्ध उभ्याएको बताए।

पूर्व महान्यायाधीवक्ता मुक्ति प्रधानले नेपालमा आमूल परिवर्तन गरी जनताको जीवनस्तर उकास्न तुलाधरले महत्वपूर्ण योगदान दिएको बताउँदै पद्मरत्न व्यक्ति नभई शान्ति प्रक्रियाको संस्था भइसकेको बताए।

मानव अधिकारवादी नेता मल्ल के सुन्दरले पञ्चायती व्यवस्थाविद्धको अभियानमा पद्मरत्न तुलाधरको योगदान महत्वपूर्ण रहेको बताउँदै माओवादी जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन पद्मरत्नले निर्णायक भूमिका रहेको उल्लेख गरे।

पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिका अध्यक्ष शान्तदास मानन्धरले पद्मरत्न तुलाधर ७७ वर्ष सात महिना सात घडी सात पलाको समय जुटाएर उनको जंको९भीमरथारोहण० गरिएको बताए। रासस