भद्रपुर । ह्याप्पील्यान्ड फनपार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । कन्काई नगरपालिका–३ स्थित ह्याप्पील्यान्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।

सुरुंगा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको सो फनपार्क गत वर्ष पुसदेखि सञ्चालनमा आएको हो । कनकाई–२ का दिनेश शिवाकोटी र मनोज शिवाकोटीले १२ करोडको लगानीमा फनपार्क निर्माण गरेका हुन् । यहाँ दैनिक ५ सयदेखि एक हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फनपार्कमा माटोको ढिस्को उठाएर निर्माण गरिएको ‘सेल्फी डाँडा’ले पर्यटकलाई बढी आकर्षित गर्ने गरेको छ । पार्कमा आइसफल टावर, पानीको फोहोरा, बगैँचा र बाल उद्यान निर्माण गरिएको छ । यहाँ हात्ती, बाघ, गैंडालगायतको प्रतिमासमेत राखिएको छ ।

पार्कभित्र रहेको मिनी चिडियाखानामा विभिन्न चराचुरुंगी र वन्यजन्तु राखिएको छ । पार्कभित्र चार कट्ठा जग्गामा कृत्रिम पोखरी निर्माण गरिएको छ । यहाँ निर्माण गरिएको आकासे पुलमा फोटो खिच्नेको घुइँचो लाग्छ ।

‘शनिबार र चाडपर्वमा अत्यन्त भीड लाग्छ’, सञ्चालक मनोजले भने, ‘भारत, बंगलादेश र भुटानबाट समेत पर्यटक घुम्न आउने गरेका छन ।’ पर्यटकबाट प्रतिव्यक्ति ५० शुल्क लिने गरिएको छ । नौ महिनाको अवधिमा टिकट बिक्रीबाट एक करोड ७५ लाख आम्दानी भएको उनले बताए । यस अवधिमा २ लाख ८६ हजार आन्तरिक तथा बाह्य पर्यटकले फनपार्कको अवलोकन गरिसकेका छन् ।

‘पर्यटक आकर्षित गर्न संग्रहालय बनाउन थालेका छौँ,’ सञ्चालक दिनेशले भने । उनका अनुसार ५६ सिट भएको पुरानो जहाजभित्रै संग्रहालय बनाउन थालिएको छ । फनपार्कबाट ४० जनाले रोजगारी पाएका छन् । दमक नगरपालिका–२ युवा व्यवसायी प्रकाश प्रसाईंले समेत सात बिघा निजी जग्गामा १० करोडको लगानीमा फनपार्क निर्माण थालेका हुन् ।