सिन्धुलीको दूधौली नगरपालिकास्थित दूधौली खोलाको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण पुल भासिएको हो ।

पुल भासिंदा अहिले सवारी आवागमन अवरुद्ध भएको छ । बाढीका कारण वैकल्पिक राजमार्गअन्तर्गत कटारी–दूधौली सडक खण्डअन्तर्गत दूधौली नगरपालिका वडा नं ७ र ८ को सीमानामा पर्ने दूधौली खोलाको पक्की पुल भासिएपछि अहिले चार पाङग्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुलमा सवारी चलाउँदा दुर्घटनाको सम्भावना रहेकाले सवारी सञ्चालनमा रोक लगाइएको दूधौली नगरपालिका–८ का वडाध्यक्ष मोहनचन्द्र दाहालले जानकारी दिए । पुलको पिलर भासिएपछि पुल नै लचकिएकाले अर्को विकल्प नहुन्जेलसम्म पुलमार्फत सवारी साधन नचलाउन नगरपालिकाले अनुरोध गरेको छ ।

सडक विभागलाई छिट्टै डाइभर्सनको व्यवस्था मिलाई आवत–जावतमा सहज बनाउन माग गरिएको स्थानीय कपिल खड्काले बताए । आर्थिक वर्ष २०६२÷६३ मा प्रजुना निमार्ण सेवाले ठेक्का लिइ सम्पन्न गरेको पुल भासिदा दूधौलीका स्थानीय व्यापारी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन् । २० मिटर लम्बाइ रहेको पुल २० लाख बराबरको लागतमा निर्माण भएको थियो ।