काठमाडौं । अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु बन्द गरेर देशभरिका चिकित्सकहरुले आज पनि बन्द गरेका छन् । चिकित्सकको आन्दोलनका कारण लाखौं बिरामी प्रभावित भएका छन् । मुलुकी अपराध संहितामा गरिएको व्यवस्था परिवर्तन गर्न माग गर्दै चिकित्सकहरुले आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेपछि बिरामीहरु बिचल्लीमा परेका छन् ।
चिकित्सकहरुको आन्दोलनका कारण अस्पताल पुगेका बिरामीहरु उपचार बिनै फर्किन बाध्य भएका छन् । बाहिरबाट राजधानीमा उपचार गर्न आउनेहरु ठूलो समस्यामा परेका छन । आन्दोलनका कारण एक दिनमा २२ लाख भन्दा बढी बिरामीहरु समस्यामा परेका छन् ।
हिजो नेपाल चिकित्सक संघले ६ हजार चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । लाइसेन्स बुझाउनेमा संघमा आवद्ध १६ वटा शाखाकै चिकित्सकहरु रहेको संघका महासचिव डा. लोचन कार्कीले जानकारी दिए ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै हड्ताल गरेमा वा त्यसमा भाग लिएमा हड्तालमा सहभागी हुने चिकित्सकलाई ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुबै सजाय हुने चेतावनी दिएको छ । आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक सेवा ऐन अनुसार कारवाही र जरीवानाको चेतावनी दिएको हो ।










