विराटनगर । ऐतिहासिक श्रीकृष्ण रथयात्रा सोमबार विराटनगरमा निकालिँदै छ। तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा सञ्चालनका लागि मुख्य मार्गका ४३ स्थानमा विश्रामस्थल तोकिएको छ।
रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भएर मेनरोडबाट ट्राफिकचोक हुँदै जनआन्दोलन चोक भएर कोशी राजमार्गको बरगाछीसम्म पुगी पुनः मन्दिर पुगेर सम्पन्न हुनेछ। रथयात्रा सम्पन्न गर्न विभिन्न १९ उपसमिति बनाइएको मूल समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए। यस पटकको रथ प्यागोडा शैलीको बनाइएको छ।
रथको अग्रभाग जुवाबाट ७५ फिट दायाँबायाँ लामो लठ्ठा तान्ने डोरी लगाइएको छ भने रथयात्राको क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराउँने योजना आयोजकको छ। रथयात्राको शोभा बढाउन नेपाल भारतका हजारौँ दर्शक सहभागी हुने भएकोले सो दिन प्रदेश सरकारले सुनसरी र मोरङ जिल्लामा बिदा दिने निर्णय पनि गरेको छ। रथ निकालिने मार्गमा विराटनगर महानगरपालिकाले सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने काम सम्पन्न गरेको जनाएको छ।
दक्षिण एसियाकै ठूलो मानिने रथयात्रामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि अत्याधुनिक ड्रोन क्यामेराबाट रथयात्रालाई निगरानी गरिनेछ भने एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित गरिने भएको छ। रथयात्रालाई सुरक्षा प्रदान गर्न र निरन्तर सम्भावित असुरक्षित स्थानमा निगरानी गर्न ड्रोन क्यामेरासहित विशेष सुरक्षाको टोली काठमाडौंबाट आएको मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले जानकारी दिए।
ड्रोन क्यामेराको परीक्षण प्रदेश१ का प्रहरी प्रमुख डिआइजी केदार रिजालले गरेका थिए। वि।सं। १९८८ देखि खट यात्राको रूपमा सुरु भएको रथयात्रा २०२५ सालदेखि भव्य रूपमा सुरु भएको हो। रथयात्रामा नेपाल तथा भारतबाट पाँच लाख बढी श्रद्धालु भक्तजनको सहभागतिा रहने आयोजकको भनाइ छ। रथयात्राको क्रममा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र नेपाली सेनासमेत खटिने रथयात्रा आयोजक समितिले जानकारी दिएको छ। रथयात्राको अवसरमा विभिन्न ६८ वटा झाँकी प्रदर्शन गरिने झाँकी व्यवस्थापन उपसमितिका संयोजक रेवत कार्कीको भनाइ छ। यता झापाको दमक र भद्रपुरमा भव्य रुपमा रथयात्रा मनाइने भएको छ । दुवै स्थानमा भव्य रथयात्रका निकाल्ने तयारीमा आयोजक समिति रहेको जनाइएको छ । थाहाखबरको सहयोगमा










