१९ भदौ – नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई नेपाल रत्न पदक दिइएको छ । मंगलबार शितल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै सर्वोच्च नागरिक पदक नेपाल रत्न बीपीका नाति सिद्धार्थ कोइरालालाई प्रदान गरिन् ।
गत वर्ष नेपाल रत्न एमालेका स्वर्गीय नेता मदन भण्डारीलाई दिइएको थियो । भण्डारीलाई यस अघिको केपी ओली सरकारले नेपाल रत्न पदकका लागि सिफारिस गरेको थियो । बीपीलाई भने शेरबहादुर देउवा सरकारले सिफारिस गरेको हो ।
कोइराला वि।स। २०१५ को निर्वाचनबाट प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बनेको एक वर्ष नपुग्दै राजा महेन्द्रले शासन सत्ता हातमा लिएर उनलाई जेल हालेका थिए । त्यसपछि उनले पञ्चायतविरूद्ध सशस्त्र र शान्तिपूर्ण विद्रोह गरे । त्यही क्रममा घाँटीमा क्यान्सर लागेर २०३६ सालमा बीपीको निधन भएको थियो ।










