राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले भारतको रेल पहिला आउँछ कि चीनको भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्दै बिमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका थिए । प्रश्न उत्तर कार्यक्रममा राजपाका सांसद यादवले भारत र चीन दुबैसँग रेल सम्झौता भएको भन्दै कुन पहिला काठमाण्डु आइपुग्छ भनेर प्रश्न गरेका छन् ।
त्यस्तै कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले विमस्टेकको कुनै एजेण्डामा नै नभएको संयुक्त सैन्य अभ्यासबारेको निर्णयले नेपालीहरु सशंकित भएको बताए । ‘कुनै एजेण्डामा नै नभएको देशलाई गुमराहमा गरेर यस्तो निर्णय गर्दा नेपाली जनता सशंकित भएका छन्’ उनले भने ।
कांग्रेस सांसद मिनेन्द्र रिजालले सम्मेलन प्राविधिक र आर्थिक विषयको भए पनि सैन्य अभ्यासको निर्णय कसरी आयो भनी प्रश्न गरे । ‘सम्मेलन आर्थिक र प्राविधिकको थियो । सैन्य अभ्यासको कुरा भयो’, उनले भने ‘आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने प्रधानमन्त्री बनाएको ? अब बुझाइदिनुहुन्छ होला नि बहुपक्षीय आर्थिक र प्राविधिक विषयमा सैन्य अभ्यास किन आवश्यक भयो ?’
सांसद भरतकुमार शाहले गोकर्णमा रिट्रिट गर्ने भनेको बाटो बनाउन नसकेर क्यान्सिल हुनुबाटै सरकारको सामथ्र्य देखिएको बताए । उनले थपे ‘राष्ट्रिय सभागृहमा गर्ने कार्यक्रम सोल्टीमा गरियो त्यहाँ सरकारको सामर्थ्य देखिएन र ?’










