–हिमाल जोशी–
धनगढी । सुत्केरी व्यथा लागेर अटोरिक्सामा अस्पताल आएकी एक महिलाले अस्पताल नपुग्दै अटोमै शिशु जन्माएकी छन् । अस्पतालको गेटमा अटोमै शिशु जन्माएपछि हेर्नेको पनि भिड लागेको थियो ।
प्रदेश ७ को अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिका–१२ ए गाउँ जुगेडाकी २५ वर्षीया पार्वती थापाले आज मंगलबार साढे १ बजे सेती अञ्चल अस्पतालको गेटमै अटोरिक्सामा शिशु जन्माएकी हुन् । उनका यी दोस्रो सन्तान हुन् । यसअघि उनको एक छोरी छिन् ।
धनगढीस्थित सेती अञ्चल अस्पतालबाट करिब ७ किलोमिटरको दुरीमा रहेको जुगेडाबाट सुत्केरी व्यथा लागेकी थापालाई उनकी दिदी (आमाजू) चन्द्रा थापाले अटोरिक्सामा ल्याएकी थिइन् ।
घरमा अरु मान्छे पनि कोही नभएको र उनका श्रीमान रोजगारीका सिलसिलामा भारत रहेकाले दिदी चन्द्राले पार्वतीलाई अस्पताल ल्याएको बताइन् ।
चन्द्राले भनिन्, ‘सुत्केरी व्यथा लागेपछि अटोरिक्सा बोलाएर अस्पताल ल्याएँ । अस्पतालभित्र नपुग्दै गेटमै शिशु निस्कन थाल्यो । अनि अटो रोकेर अस्पतालका स्वास्थ्यकर्मीलाई अटोमै बोलाएर सामान्य सहयोगपछि शिशु जन्मियो ।’
‘शिशु निस्कनै थालेको थाहा पाएपछि अटोरिक्सा वरिपरी त्यहाँ भएका महिलाले घेरे । अटोमै बच्चा जन्मिदैं छ भन्ने हल्ला भएपछि एकाएक वरिपरी भिडभाड भो’ अटोरिक्सा चालक बलराम पाठकले भने ।
बच्चा जन्मिसकेपछि सुत्केरी थापालाई अस्पतालको प्रसूति कक्षभित्र लगियो । आमा र छोरा दुवैको स्वास्थ्य राम्रो रहेको सेती अञ्चल अस्पताल प्रसुति विभागकी नर्स लक्ष्मी शाहले बताइन् । उनका अनुसार नवजात शिशुको तौल ३ किलो रहेको छ । समाचार दैनिकीबाट










