नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पछिल्लो समय जनतामा चरम निरासा छाएकोले त्यसलाई हटाउन गम्भीर कदम चालिने बताएका छन् । सरकारका मन्त्री र अन्य सरकारका कामकारबाही प्रति जनतामा असन्तुष्टि बढेकाले त्यसलाई छिट्टै सम्बोधन गरिने बताए ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारका काम कारबाहीलाई लिएर अहिले जत्तातत्तै चर्चापरिचर्चा र आलोलना भइरहेको छ । देश वर्षौ पुरानो व्यवस्थालाई परिवर्तन गरी भर्खरै नयाँ संरचनामा गएको छ । नया संरचना भएकाले त्यहाँ सबै कुरा नयाँ बनाउनु पर्ने छ । व्यस्था नयाँ, त्यसका नेतृत्वकर्ता नयाँ भएकाले सरकारका कामकारबाही जनताको अपेक्षा अनुसार प्रभावकारी हुन सकेका छैनन् । त्यसैले सरकारका कामकारबाहीलाई लिएर विश्लेषण गरे पनि संश्लेषण गर्ने समय नभइ नुसकेको छैन ।’
करीब ७० वर्षपछि स्थिर र इतिहासकै शक्तिशाली सरकार त्यो पनि वामपन्थीको भएको समयमा जन अपेक्षा धेरै भए पनि त्यस अनुरुप स्थानीय तहदेखि केन्द्र सरकारका काम कारबाही प्रभावकारी हुन नसकेपछि जनतामा असन्तुष्टि बढ्दै गएकोमा प्रचण्डले गम्भीर चिन्ता व्यक्त गर्दै त्यसलाई समयमै सम्बोधन गर्न आफुहरु लागेको बताएका छन् ।
‘हाम्रो सरकारबाट जनताले ठ्याक्कै अनुभूत गर्ने कामकारबाहीको अपेक्षा गरेका थिए । तर नयाँ व्यवस्था र अभ्यास भएकाले त्यसो हुन सकेन् । सरकारका कामकारबाहीले जनतामा व्यापक असन्तुष्टि पैदा भयो । हामी त्यसलाई तत्काल सम्बोधन गर्न र सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउने दिशामा क्रियाशिल छौं,’ प्रचण्डले भने, ‘त्यसका लागि राम्रो काम गर्न नसकेका मन्त्री हेरफेर गर्ने, पुरक बजेट ल्याउनलगायतका जस्ताे सुकै कदम चाल्ने तयारीमा छौं ।’
त्यस्तै अध्यक्ष प्रचण्डले आफ्नो आसन्न दुई छिमेकी देश भारत र चीनको भ्रमणलाई लिएर शंका नगर्न पनि आग्रह गर्दै यो भ्रमण छिमेकीसँगको सम्बन्ध विस्तारमा केन्द्र रहने सपष्ट पारे । उनले भने, ‘म अब छिट्टै भारत र त्यस लगत्तै चीन भ्रमणमा जादै छु । यो भ्रमण छिमेकीसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउन केन्द्र हुने छ । हाम्रो पार्टीमा दुई वटा अध्यक्ष भएकाले मलाई नेकपाको अध्यक्षका नाताले उनीहरुले निम्तिा दिए । मेरो भ्रमण सरकारलाई थप सहयोग विषयमा केन्द्रित हुने छ । यसमा कसैले शंका गर्नु पर्ने केही छैन । साथै जनअपेक्षा अनुरुप छोटो समयमा द्रूतगतिमा देश विकासका लागि भ्रमण फलदायी हुने छ ।’
प्रचण्डले पछिल्लो समय देशका विभिन्न स्थानमा भएका बलात्कार र महिला हिंसालाई इंगित गर्दै चिन्ता र चासो व्यक्त गरे । उनले भने, ‘समाजमा गम्भीर विचलन देखा पर्यो । जतातत्तै हत्या हिंसा र बालिका बलात्कार र त्यसपछि हत्या जस्ता घटना दिनप्रति दिन बढेर गएका छन् । सम्बन्धीत निकायले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छैनन् । कत्तै कत्तै त कानून कार्यान्वयन गर्ने अधिकारीहरुको संलग्नता भएका विषयहरु आएका छन् । यसलाई पनि बेलामै उचित सम्बोधन गर्न सकिएन भन्ने त्यसले पनि समाजमा विकराल समस्या सृजना गर्ने देखिएको छ ।’
यी र यस्ता विषयलाई सम्बोधन गर्न र सरकारलाई अपेक्षाकृत प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुबीच गम्भीर समीक्षा भइरहेको छ । प्रचण्डले भने, ‘अब छिट्टै सरकार र पार्टीले त्यस अनुरुपमा काम गर्छ । कानूनको शासन स्थापित गर्न र जनतालाई सम्भव भएसम्मको राज्यबाट सेवा सुविधा उपलब्ध गराउने विषयमा हाम्रा ध्यान केन्द्रित छ । र म त्यसैका लागि क्रियाशिल छु ।’










