काठमाडौं, १९ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन १८ बुँदे घोषणा पत्र जारी गर्दै गत शुक्रबार सम्पन्न भएको छ । निकै चासो बनेको बिमस्टेकको चौथो शिखर सम्मेलनबाट नेपालको प्रशंसा भन्दा बढी आलोचना भएको छ ।
सम्मेलनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त सैन्य सभ्यास, बौद्ध सम्मेलन, स्थायी कार्यकारी समिति निर्माण लगायतका समझदारी गरेको छ । बिमस्टेक भारतीयहरुको स्वार्थमा प्रयोग भएको भन्दै यसको बिरोध भइरहेको बेला नेपाल कम्युष्टि पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावल पनि बिमस्टेकको निर्णय बिरुद्ध उभिएका छन् । रावलले बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गरेका छन् ।
भारतकै पहल र प्रस्तावमा बहुदेशीय फिल्ड ट्रेनिङ माइलेक्स भदौ २५ देखि ३१ गतेसम्म भारतको पुनेमा सैन्य अभ्यास गर्ने निर्णय भएको थियो । नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०÷३० सैन्य अधिकारीले सहभागिता जनाउने यो अभ्यास भारतको सामरिक रणनीति अन्तरगत हुन लागेको हो । यसको चौतर्फी बिरोध भएको बेला सत्ताधारी पार्टीकै प्रभावशाली नेता यस बिरुद्ध उभिएका छन् ।
यसअघि रावलले बहुराष्ट्रिय सैनिक अभ्यासको निर्णय बिरुद्ध बोलेका थिए । मंगलबार राजधानीमा आयोपजत कार्यक्रममा पनि नेता रावलले सरकारले राष्ट्रियताको हितविपरित बहुराष्ट्रिय संयुक्त सैन्य गर्न लागेको भन्दै बिरोध गरे । भने,‘बिम्स्टेक वैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालय सबैलाई हार्दिक धन्यवाद छ, तर केही निर्णयहरु गलत गरिएका छन् त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हुँ, संविधानको हित विपरित र पार्टीको नीति विपरित कुनै सम्वाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरित यसरी सरकारले निर्णय गर्नुले सरकारात्मक सन्देश दिदैन् ।’
नेता रावलले १८१५ सालमा नेपाल र अंग्रेजबीचको मलाउ युद्धमा तीन हजार नेपाली वीर गोरखालीहरुलाई युद्ध बन्दि बनाईयो र बन्दि बनाईएका नेपालीहरुलाई अंग्रेजले गोरखा भर्ति केन्द्रको रुपमा विकास गरेको उल्लेख गरे । भने, ‘नोभेम्बर ९ मा १९४७ राणा, बेलायत सरकार र भारतबीच भएको सहमतिले हाम्रो राष्ट्रियतामाथि प्रश्न खडा गरिरहेको छ, देश र जनताको हित विपरित भए गरिएका कुनैपनि सम्झौताको बिरोधमा बोल्न मलाई कतै कसैले रोक्न सक्दैन ।’
नेता रावलले आफू पार्टीको सिपाई हुनुपूर्व देशको नागरिक भएको भन्दै पार्टीको भन्दा अघि देशको बारेमा चिन्ता गर्नुपर्ने बताए । समानताको पक्षधर रहेको भन्दै नेता रावलले महिलाको लागि पनि गोरखा भर्ति खुल्ला गरिनुलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । उनले भने,‘मैले धेरै पटक भनेको छु, विश्व युद्धको बेलामा केही स्थानमा अंग्रेजसँग पराजय भएको प्रतिकको रुपमा स्थापना गरिएको गोरखा भर्तिमा नेपाली महिलालाई गोरखा भर्तिको लागि अनुमति दिनु राष्ट्रहित विपरित हो, राम्रो काम होईन, भविष्य सम्झेर मैले यसो भन्दैछु, महिलाको बिरोधी बनेर होइन कालान्तरमा आईलाग्ने समस्या र राष्ट्रियतालाई ध्यानमा राखेर यस्ता निर्णयहरु गर्नुपर्छ ।’
कांग्रेसले प्रमसँग जवाफ माग्ने
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि बिमस्टेक राष्ट्रहरुले गर्ने भनिएको सैन्य अभ्यासबारे सरकारसँग जवाफ माग्ने भएको छ। कांग्रेस नेता मीनेन्द्र रिजालले सैन्य अभ्यास गर्ने विषय गम्भीर भएकाले किन गर्न लागियो भन्ने कारण माग गरिने जानकारी दिए। सैन्य अभ्यासबारे संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने र त्यसपछि बल्ल धारणा बनाउने उनको भनाई छ।
आर्थिक र प्राविधिक सहयोगका लागि गठन भएको विमस्टेक राष्ट्रहरुले किन सैन्य अभ्यास गर्नुप¥यो भनेर रिजालले प्रश्नसमेत गरे। सैन्य अभ्यासका कारण देशभक्तिमाथि आघात पुग्यो भने आफूहरुले स्वीकार गर्न नसकिने चेतावनी पनि रिजालले दिएका छन्।
भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा विमस्टेक राष्ट्रहरुले सैन्य अभ्यास गर्दैछन्। सैन्य अभ्यास कार्यक्रमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०र३० सैन्य अधिकारीले सहभागिता जनाउनेछन्।
कांग्रेस नेता रिजालले अहिलेको सरकार असफलताको बाटोमा हिँडिरहेको जिकिर समेत गरेका छन्। ‘सरकार सफल हुने बाटोमा छैन्। चुनौतीका साथ भन्छु, अहिलेसम्म यो सरकारले के चाँही राम्रो काम गरेको छ, देखाओस्’, रिजालले भने।
दुई तिहाईको सरकारलाई काम गर्नका लागि अनुकूल वातावरण भएपनि त्यसको सदुपयोग गर्न नसकेको रिजालको तर्क थियो। विकास निर्माण र समृद्धिको क्षेत्रमा सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको रिजालले आरोप लगाए। सरकारले अदालत, संवैधानिक निकाय, प्रेस, चिकित्सा क्षेत्र लगायतमा अंकूश लगाउन खोजेको रिजालको तर्क छ। नयाँ पेज बाट










