काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सिफारिश भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरवारमा बुधवार बसेको संवैधानिक परिषद्को बैठकले कार्यबहाक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गर्दै अनुमोदनको लागि संसदीय सुनुवाई विशेष समितिमा पठाएको छ ।
घिमिरेको नाम सर्वसम्मतीले सिफारिश भएको उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले लोकान्तरलाई जानकारी दिइन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत घिमिरेको नाममा सहमति जनाएका थिए । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानून मन्त्री तथा उपसभामुख सदस्य रहने व्यबस्था छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिश गर्न बसेको परिषद्को बैठकले नै घिमिरेको नाम सिफारिश गर्ने चर्चा थियो । परिषद्ले सर्वोच्चको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिश गरेको थियो ।
यसअघिका प्रमुख आयुक्त दीप बस्न्यातले ६५ वर्षे उमेर हदका कारण २०७४ माघ महिनामा अवकाश पाएपछि अख्तियारमा घिमिरे कार्यबहकाक प्रमुख आयुक्त थिए । लामो समय गृहप्रसाशनमा काम गरेका घिमिरे काविल प्रशासक मानिन्छन् ।
घिमिरे गृहका अतिरिक्त रक्षा र वन तथा भूसंरक्षण मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रतिबाट अख्तियारको प्रमुख आयुक्तको नियुक्ति हुनेछ । लोकान्तर बाट










