नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरमा बयानका लागि उपस्थित गराइएको छ । ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी मुद्दा लागेका प्रकाण्डलाई बुधबार बिहान करिब साढे ११ बजे बयानका लागि जिल्ला प्रहरी कार्यालयबाट अदालतमा लगिएको हो ।

सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलिपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा मंगलबार राती सवा ११ बजे भोजपुर ल्याईएको थियो । अहिले उनीमाथि बयान चलिरहेको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ज्यान मार्ने उद्योग र विष्फोट पदार्थ मुद्दा अन्तर्गत गत कात्तिक २८ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि गोगनेतर्फ जाने क्रममा भोजपुरको प्रदेश ‘ख’ का तात्कालिन एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार शेरधन राईलाई लक्षित गरेर टेम्के मैयुङ गाउँपालिका ६ कोटको गुम्बास्थित सकेट बम विष्फोट गराइएको थियो ।

विष्फोटमा राईको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक ९असई० डिल्ली देवकोटा घाइते भएका थिए । राईसहित पार्टी कार्यकर्ता चढेको बा १५ ज ५६०८ नम्बरको ल्याण्डरोवर जीप विष्फोटमा परेर क्षतिग्रस्त बनेको थियो । विष्फोटपछि असई देवकोटाले २१ राउण्ड जवाफी फाईरिङ समेत गरेका थिए । यही घटनालाई लिएर ‘प्रकाण्ड’ सहित विप्लवका नेता कार्यकर्ता विरुद्ध अदालतमा मुद्धा दर्ता भएको हो ।

यसअघि उनलाई काठमाडौं, काभ्रे र नुवाकोटमा विभिन्न अभियोगमा मुद्धा चलाइएको थियो । उनी सहित ‘विप्लव’ का उच्च तहका नेताहरु पदमबहादुर राई ‘विकास’, देवान राई ‘दिपेश’, किरण राई, चन्द्र बुढाथोकीलगायत विरुद्ध जिल्ला अदालत भोजपुरमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धा दर्ता भएको छ ।