नेपाल कम्युनिस्ट पार्टीका सांसद नवराज सिलवालले अरुले ल्याएर छाडिदिएको बाँदरका कारण आफ्नो निर्वाचन क्षेत्रका वासिन्दा पीडित भएको बताएका छन् ।

ललितपुर क्षेत्र नम्बर १ को जंगलमा राति अन्यत्रबाट बाँदर ल्याएर छाडिदिएको बाँदरले स्थानीयको अनाज खाइदिने, बालबालिकामाथि आक्रमण गर्ने र घरभित्र पसेर उपद्रो गर्ने गरेको उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मेरो क्षेत्रका जनता अनौठो खालको समस्याबाट पीडित भएका छन्’ बुधबारको संसद बैठकमा उनले भने ‘यो कसरी भयो भनेर बुझ्दा अरु अरु ठाउँमा पनि यस्तो समस्या रहेछ ।’

उनले स्याङ्जा, रामेछाप, दोलखामा पनि यस्तो समस्या देखिएको, काठमाण्डुको बुढानिलकण्ठ स्कुल र ओम अस्पतालले बाँदर नियन्त्रण गर्न जिल्ला वन अधिकृतलाई पत्र नै लेखेको पनि संसदमा बताए ।

‘नुवाकोटको विदुर नगरपालिकामा भदौरे सोसियल रिर्फम कमिटी नै गठन गरेर बाँदर अन्यत्र लैजान नगरपालिकासँग बजेट नै मागेको रहेछ’, उनले भने ‘नगरपालिकाले यो त्यति ठूलो समस्या होइन, बजेट छैन भनेको रहेछ ।’

सांसद सिलवालले हेटौंडाको भुटनदेवी मन्दिर वरपरका १२० घर विस्थापित हुने अवस्थामा पुगेको उदाहरण दिँदै यस्ता समस्याबाट अस्थायी रुपमा बाँच्न बाँदर अन्यत्र लैजाने गरिएको बताए ।

सांसद सिलवालले देशका धेरै ठाउँमा बाँदरको समस्या बढेको भन्दै यसको स्थायी समाधान खोज्न सरकारलाई आग्रह गरे । ‘सरकारले सम्बन्धित निकायलाई निर्देशन र बजेट देओस्’ उनले भने ‘यो समस्याको स्थायी समाधानका लागि सरकारको सम्बन्धित निकाय लाग्नुपर्छ ।’ काठमाडौं टुडे बाट