काठमाडौं, २० भदौ । अन्ततः नेकपाका नेता वामदेव गौतम डोल्पाबाट चुनाव नलड्ने निर्णयमा पुगेका छन् । स्थानीयबाट राम्रो प्रतिक्रिया नपाएपछि उनी डोल्पाबाट चुनाव नलड्ने निष्कर्षमा पुगेको उनी निकट स्रोत बताउँछ ।
पर्यटन राज्यमन्त्री रहेका नेकपाका सांसद धनबहादुर बुढालाई राजिनामा गर्न लगाई डोल्पामा उपनिर्वाचन गराई चुनाव लड्ने गौतमको तयारी थियो । त्यसका लागि सांसद बुढा गत साता जिल्ला पुगेर फर्किएका छन् ।
आफूलाई राजिनामा नदिने दबाब आएको उनले बताएका छन् । केही व्यक्तिहरुले त वामदेवलाई उपनिर्वाचनमार्फत डोल्पामा चुनाव लडाउने प्रक्रियाको विरोध नै गरिसकेका छन् । सांसद बुढा वामदेव निकट सांसद हुन् । त्यसकारण उनले डोल्पा रोजेका हुन् ।
गत वर्ष मंसिरमा भएको निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए । उनलाई संसदमा ल्याउनेबारे छलफल चलिरहेको छ । गौतमले डोल्पाभन्दा प्यूठानबाटै चुनाव लड्ने इच्छा देखाएका छन् । प्यूठानबाट चुनाव जितेकी दुर्गा पौडेललाई अन्य कुनै पदमा नियुक्त गरी राजिनामा दिन लगाएर गौतमलाई त्यहाँ चुनाव उठाउनेबारे समेत छलफल भइरहेको स्रोत बताउँछ ।










