(पार्थ मण्डल) भद्रपुर । केही महिना अगाडी झापाको बिर्तामोडका एक व्यक्तिले चलाउँदै आएको फेसबुकमा अपरिचित एउटी केटीले पठाएकी फ्रेण्ड रिक्वेएस्ट एक्सेप्ट गरे । त्यसपछि अपरिचित केटीसंग ती व्यक्तिले निरन्तर फेसबुक च्याटमा कुराकानी गर्न थाले । सोही कुराकानीको दौरानमा उनीहरु बीच प्रेम सम्बन्ध बस्यो । तर, ती व्यक्ति विवाहित पुरुष हुन् । फेसबुकमा अपरिचित केटीसंग प्रेम सम्बन्ध बसेपछि उनीहरु बीच अश्लिल कुराकानी समेत हुर्दै गयो ।
यतिसम्म किन अश्लिल कुराकानीपछि उनीहरु बीच नाङ्गो भिडियो च्याट समेत हुन् थाले । सोही मौका छोपी अपरिचित केटीले ती व्यक्तिको नाङ्गो भिडियो रेकर्ड गरिन् र उनलाई इमेलमार्फत पठाएर बार्गेनिङ्ग सुरु गरिन् । नाङ्गो भिडियो वापत ती व्यक्तिसंग केटीले १० हजार डलर मागेपछि उनी मानसिक तनावमा पुगे । बार्गेनीङ्गको सञ्जालमा यसरी फसिन कि मानसिक तनाव झेल्न नसकेपछि उनी इलाका प्रहरी कार्यालय बिर्तामोड न्याय माग्न पुगिन् ।
उनको घटना सुनेपछि इलाका प्रहरी कार्यालयले साइबर अपराध शाखा काठमाडौंसंगको सहकार्यमा ती केटीको फेसबुक एकाउन्टको बारेमा सोधी खोजी गर्दा ती केटीको स्थानीय ठेगाना फिलिपिन्स रहेको पत्तो लाग्यो । फिलिपिन्स देखाएपछि ती व्यक्तिलाई प्रहरीले न्याय दिन नसकेको तितो यथार्थ घटना इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाले झापाको भद्रपुरमा आयोजित बालबालिका हुने अनलाइन यौन शोषण रोकथाम बिषयक जिल्लास्तरीय परामर्श कार्यक्रम सुनाए ।
प्रहरी नायव उपरीक्षक कोइरालाले भने, ‘यो त एउटा प्रतिनिधि घटनाका पात्र मात्र हुन्, झापा लगायत देशभर यस्ता समस्याका घटना प्रहरी समक्ष दैनिक आइपुग्छ ।’ जस्ट सेए नो नेपाल नामक संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा उनले भने, “पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत अपराधका घटनाहरु बढन थालेको छ, यो नेपालमा मात्र चुनौतीको बिषय बनेको होइन संसार मै यसले विकृती फैलाइ रहेको छ ।”
बिशेषगरी बालबालिकामा यसको असर देखापरेको छ’, उनले भने, “अहिले प्रत्येक बालबालिकाको हात÷हातमा मोबाइल, ल्याप्टप र कम्प्युटर छ, बालबालिकाले फेसबुक एकाउन्ट त बनाउँछन्, तर फेसबुक एकाउन्टमा हुने सुरक्षित तरिकाबाट उनीहरु अनविज्ञ छन, जसको असरपछि गएर देखा पर्छ ।” उनीहरु अपरिचित व्यक्तिसंग कुराकानी गर्ने, प्रेम सम्बन्ध बढाउने अनि यौनजन्य घटनाका सिकारमा पर्ने घटनाहरु अहिले देखा पर्न थालिसकेको छ ।
‘बालबालिका मात्र नभई अहिलेका युवा पुस्ताहरु पनि सामाजिक सञ्जालमा फसी स्वास्थ्य, आर्थिक र मानसिक तनावमा छन्, बेलैमा सुरक्षित भएर यसको प्रयोग नगरे लागुऔषधको लत जस्तै सबैलाई यो रोग लाग्नेमा कुनै दुविधा छैन, उनले थपे ।
अहिले यौनजन्य जस्तै आर्थिक प्रलोभनमा परी मानिसहरु ठगिन थालि सकेकाले बेलैमा सचेत बन्न उनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरे । प्रहरी समक्ष घटना लिएर आउनु भन्दा अघि नै सचेत भइ दिए यस्ता प्रकृतिका घटनालाई रोकथाम गर्न सकिन्छ’, उनले भने, ‘तर’ ‘अहिलेका प्रयोगकर्तामा त्यस्तो सचेतना छैन ।’
यता जस्ट सेए नो नेपाल नामक संस्थाका संयोजक ऋषि ओझाका अनुसार जथाभावी फेसबुकमा व्यक्तिगत विवरण हाल्न थालेकोले अनलाइन यौन शोषणका घटनाले प्रोत्साहन पाइरहेको बताए । नेपालमा झण्डै एक करोड फेसबुक प्रयोगकर्ता रहेको बताउँदै उनले भने, ‘यसको लतमा फसेर मानिसको जिवन एक्लो बन्न थालिसकेको छ ।’ यसलाई रोकथामका लागि सरकारले ठोस कानुन बनाउन आवश्यक रहेको उनको भनाई छ ।
त्यसैगरी झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले फेसबुकसँगै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताको सुरक्षाका लागि प्रहरी, प्रशासन गम्भिर रहेको बताए । सामाजिक सञ्जाल प्रयोगकर्तालाई सुरक्षित बनाउन स्थानीय सरकारले सचेतना मुलक कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।
जिल्ला समवन्य समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार सामाजिक सञ्जाल प्रयोग गर्नु राम्रो हो, तर त्यसबाट हुने असर तथा आई पर्ने घटनाको बिषयमा प्रयोगकर्ता आफै सचेत बन्नु पर्छ । ‘खेलकुद क्षेत्रमा बालबालिका आकर्षण घटदै गइरहेको छ’, कराते प्रशिक्षक मदन उप्रेतीले भने, ‘सामाजिक सञ्जालमै दिन बिताउँदै गए भने आउँदो दिनमा मानसिक र आखाँ रोगी भयवाह रुपमा देखिन्छ ।’
टाइम्स अफ प्रदेश बाट










