ललितपुर । काठमाडौंको रातपुलस्थित एक घरमा सहयोगीको रुपमा बसेकी १४ वर्षकी बालिका चाँदनी तेली ४ दिनदेखि सम्पर्कविहीन भएकी छिन् ।
रातोपुलमा रहेको इश्वरी दवाडीको घरमा एक वर्षदेखि सहयोगीको रुपमा काम गर्न बसेकी झापाकी चाँदनी भदौ १७ गते आइतबार दिउँसोदेखि सम्पर्कमा नआएको दवाडीकी छोरी दत्ताश्री दवाडीले जानकारी दिईन् ।
चाँदनी सम्पर्कमा नआएपछि महानगरीय प्रहरी बृत्त गौशालामा भदौ १८ गते दवाडीले उनलाई खोज्न निवेदन दिएकी छिन् । उनीहरुले आज बुधबार बालबालिका खोजतलास केन्द्र भृकुटीमण्डपमा पनि निवेदन दिएका छन् । तर चार दिन बितिसक्दा पनि उनी सम्पर्कमा नआएको छोरी दत्ताश्रीले बताईन् ।
महानगरीय प्रहरी बृत्त गौशालाका डिएसपी सुनिल मल्लले प्रहरीले उनको खोजी तीब्र बनाएपनि उनलाई नभेटिएको बताए । डिएसपी मल्लका अनुसार मंगलबार चाँदनीले उनी पढ्ने विद्यालयकी साथी सुनिता लामासँग भेटेको जानकारीमा आएकोले उनी पहिले बस्ने घर वरपर नै हुनसक्ने बताए ।
‘बालिका साथीसँग भेट्न गएको र हराएको भोलिपल्ट सँधै तरकारी किन्ने पसलमा तरकारी किन्न गएको देखिन्छ ।’ डिएसपी मल्लले महिला खबरसँग भने, ‘सामान्य बुझ्दा पहिले बसेको घर वरपर कसैको घरमा बसेको अनुमान गरेका छौं ।’
यद्यपि १४ वर्षको बालिका सम्पर्क बिहीन हुँदा उनी जोखिममा पर्न सक्ने भएकोले मातहतका प्रहरीमा पनि जानकारी पठाइएको उनले जानकारी दिएका छन् ।
१४ वर्षकी चाँदनी एक वर्षअघि दवाडीको घरमा बस्न आएकी थिईन् । उनको घर झापाको बिर्तामोड ७, मा रहेको छ । चाँदनी ज्ञानेश्वरमा रहेको ज्ञानविकास आधारभूत विद्यालयमा कक्षा ५ की विद्यार्थी पनि हुन् ।










