जोडो सु बुद्धिष्ट अर्गनाइजेशन (जापान) को आर्थिक सहयोगमा निर्माण भएको विद्यालय हस्तान्तरणका लागि पूर्व युवराज पारश र हिमानी दुबै जना गोर्खाको पालुङटार पुगेका छन्।
हिमानी र पारश दुबैजना पालुङटार पुगेपनि सँगै गएका भने होइनन्। उनीहरुले मार्ग पनि फरक फरक प्रयोग गरे। हिमानीले सडकमार्ग प्रयोग गरिन् तर पारश हेलिकोप्टरबाट त्यहाँ पुगे।
हिमानी ट्रष्टको संयोजनमा निर्माण भएको पालुङ्टारस्थित भवानी उच्च माविको आठ कोठे भवन हस्तान्तरण कार्यक्रममा सहभागी हुन पारश-हिमानी छुट्टाछुट्टै रुपमा उनीहरु त्यहाँ गएका हुन्।
स्रोतका अनुसार, पालुङटारका लागि हिमानी हिजै सासु कोमल शाहका साथ त्यसतर्फ प्रस्थान गरेकी थिइन्। यस अघि झैँ उनीहरु हिजोको रात मुग्लिनस्थित मोटेल डि मुग्लिनमा बास बसेका थिए।
हेलिकोप्टरबाट गएका पारशको साथमा बहिनी प्रेरणा शाह र दिलाशा थिए। पारशको टोली हेलिकोप्टरबाटै फर्कने कार्यक्रम छ भने कोमल–हिमानीचाहिँ सडक मार्गबाट फर्कनेछन्।
भिन्दाभिन्दै रुपमा गोरखा पुगेका कोमल–हिमानी र पारशले छुट्टाछुट्टै रुपमा स्थानीय समर्थक र विद्यालय व्यवस्थापन समितिका मानिसहरुसँग भेटघाट गरिरहेका छन्।
नेपाल खबर










