अर्घाखाँची, २१ भदौ – गएको भदौ १८ गते सोमबार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२, बस्यालटोला नजिकै बोरामा फालेको अवस्थामा भेटिएको शवको पहिचान भएको छ ।

सन्धिखर्क –१२, बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शव कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर –७, धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगरको रहेको पुष्टि भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डिभर्ना बस्याल टोलका महिलाहरु खरबारीमा घाँस काट्न गएको बेला दूर्गन्ध आएपछि के मरेछ भनेर खोज्दै जाँदा स्थानीयहरुले अनुहार नै नचिनिने अवस्थामा एउटा शव भेखेका थिए । शव भेखेपछि स्थानीयहरुले प्रहरीलाइ खबर गरेका थिए ।

बेवारिसे शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । बेवारिसे शव भेट्टिएको २ दिनपछि कपिलवस्तुको वाणगंगा –७, धैरेनीडाँडा बस्ने ३६ वर्षीय धनबहादुरको हुन सक्ने भन्दै मंगलबार राति श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शव हेरिन् । शव हेरेपछि ‘मेरो श्रीमानको शव होइन’ भनेर राधा फर्किइन् । प्रहरीले ‘राम्रोसँग हेर्नुस्, हुन सक्छ’ भन्यो । त्यसपछि उनले भनिन्, ‘मेरो श्रीमानलाई मैले भन्दा अरु कसले चिन्न सक्छ । यो शव मेरो श्रीमानको होइन ।’ आफ्नो श्रीमानको शव नभएको भन्दै राति नै राधा घर फर्केकी थिइन् ।

प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यालयमा बोलायो । शवको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरीसँग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर झुटो विवरण बताइन् । प्रहरीलाई शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिन् ।