काठमाडौं । आफ्नो रोजिरोटीको बन्दोबस्तका लागि अनि घरपरिवार र आफ्ना सन्ततिको खुशीयालीका लागि झापा बाहुनडाँगीका निरज बोगटी, राजेश बाँस्कोटा र रमेश बाँस्कोटा कतार हानिए । त्यसैगरी, राजकुमार ओलीले इजरायल र राम अधिकारिले दुबईको टिकट काटे । ५० डिग्री तातो बाफमा पसिना बगाए । आफ्नो युवा शरीरलाई थिलथिलो बनाए । आफ्नो मातृभूमिबाट टाढा हुनु र प्रियजनसँगको बिछोडको पीडा कल्पना पनि गर्न नसकिने कुरा हो ।
यी युवाले अलगअलग रुपमा सोचे कहिलेसम्म अर्काको देशमा पसिना बगाउने ? अर्कोलाई धनी बनाउन आफ्नो श्रम कहिलेसम्म बेचिरहने ? के आफ्नै देशमा, आफ्नै जन्मथलोमा केही गर्न सकिँदैन ? एकजनाको मात्र पूँजीले धेरै ठूलो आयोजना गर्न नसक्ने यथार्थलाई ध्यान दिँदै एउटै जन्मथलो भएका यी युवाले एकापसमा सल्लाह गरे । सबैको पुँजी एकठ्ठा गर्ने, देश फर्कने र आफ्नै ठाउँमा केही इलम गर्ने । सबैको कुरा मिल्यो, केही वर्षअघि उनीहरु आफ्नै जन्मथलो झापाको बाहुनडाँगी फर्किए र हात्ती रिसोर्टका रुपमा व्यवसाय शुरु गरे । व्यवसाय राम्रै चल्यो । यी युवा थप उत्साही भए र नयाँ कामको क्षेत्र खोज्न थाले । अनि टुंगो लाग्यो व्यावसायिकरुपमा गाई फर्म सञ्चालन गर्ने । उनीहरुले एक दुई गाईपालनबाट शुरु भएको यो काम आज तीनसय गाई पुगेका छन् । दैनिक २ हजार लिटर दूधनजिकैको रीतिका डेरीलाई बेच्ने गरेका छन् । सयौँ मानिसलाई रोजगारीको अवसर मिलेको छ । यो हो साधारण मानिसको असाधारण काम । नामले मात्र हैन कामले प्रेरक बन्न सकिन्छ । यी युवाले दिएको महत्वपूर्ण सन्देश हो यो कर्म ।
झापाको काँकड्भिट्टाबाट ६ किमि उत्तरमा रहेको बाहुनडाँगीमा सञ्चालित यी कर्मशील युवाको यो प्रेरणादायी कार्यमा नेपाल सरकार र सम्बन्धित निकायले सहयोगका लागि उत्त्साह नदेखाउनु चैँ चिन्ताको विषय हो । विद्युत् प्राधिकरणले थ्रीफेज लाइन नदिएर अल्झिरहनुले यी कर्मशीलको अनुहारमा निरासा देखिन्छ । मैले सोधेँ, सरकारी निकायमा सहयोग लिन जानुभएन ? सबै भाइले एकै स्वरमा जवाफ दिए, ‘हामी पहुँचवला भएनौँ, सरकारी सहयोग त पहुँचवालाले मात्र लैजान्छन् भन्ने सुन्छौँ ।’
उनीहरुको जवाफबाट म नाजवाफ भएँ । सरकारी निकाय त आफैँ फिल्डमा गएर यी युवालाई तपाईंलाई के–के सहयोग चाहिन्छ ? भनेर सहयोग गर्नु पर्ने दायित्व होइन र ? विद्युत् प्राधिकरणले गएर तुरुन्तै थ्रिफेज लाइन जोड्दिँदा के बिग्रिन्छ हँ ? किन हाम्रा सरकारी निकाय व्यवसायमैत्री नभएका हुन् ? सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछु । यी कर्मशील युवालाई हार्दिक शुभकामना ।
जनता समाचार बाट










