काठमाडौं । शेरबहादुर देउवा सभापतिमा उम्मेदवार नबन्ने, रामचन्द्र पौडेललाई नेपाली कांग्रेसको सभापतिमा चुनाव जिताउने, उनले चुनाव जित्नासाथ आरजू देउवालाई उपसभापति मनोनीत गराउने । सुन्दै अचम्म लाग्ने यस्तो कार्ययोजनामा पनि खेलोमेलो भइरहेको चर्चा अहिले कांग्रेसमा व्यापक भएको छ ।
आफ्नी पत्नी आरजूलाई स्थापित गराउन कांग्रेस सभापति देउवा लागिपरेका छन् भन्ने सार्वजनिक भइसकेको विषय हो । अहिले कांग्रेसभित्र गुटको राजनीति र खिचातानी चरममा पुगिरहेको बेला आरजूलाई भविष्यमा उपसभापति बनाउने प्रयास सतहमा आएको हो ।
अघिल्लो साता कांग्रेसले विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । सो समितिमा देउवा निकटहरुले सभापति र उपसभापतिमध्ये एकजना महिला हुनैपर्ने व्यवस्था राखिनुपर्ने बताएका छन् । उनीहरुले सो प्रस्ताव लिखित रुपमा भने राखेका छैनन्, मौखिक रुपमा राखेका हुन् ।
स्रोत अनुसार विधान मस्यौदा समितिमा फरमुल्लाह मन्सुरले सभापति र उपसभापति मध्ये एक महिला हुनैपर्ने र उपसभापति एकजना मात्र हुनुपर्ने कुरा झिकेका हुन् । उनको कुरालाई देउवा पक्षकी डिना उपाध्याय र सीता गुरुङले पनि समर्थन गरेको बुझिएको छ ।
विधान मस्यौदा समितिको वैठकमा सामान्य छलफलमा महिलाको कुरा उठे पनि यो कुराले कांग्रेसभित्र तरंग ल्याएको छ । यसको कारण हो आरजू देउवा । आरजूलाई उपसभापति पदमा स्थापित गर्ने तयारी स्वरुप विधान मस्यौदा समितिमा एकजना मात्र उपसभापति राख्ने विचार प्रवेश गराइएको बताइन्छ ।
स्रोतहरुका अनुसार सभापति र उपसभापतिमध्ये एक महिला हुनुपर्ने प्रावधान राख्न देउवाले समितिमा रहेका आफ्नो पक्षका सदस्यहरुलाई स्पष्ट निर्देशन समेत दिएका छन् । उनको यो निर्देशन समावेसीकरणको कोणबाट मात्र आएको होइन, भविष्यमा आरजूलाई व्यवस्थापन गर्ने चाहनाबाट पनि प्रेरित रहेको भनिँदैछ ।
रामचन्द्र सभापतिको उम्मेदवार बन्ने र देउवाको समर्थन रहने चर्चा बिना कारण चलेको होइन । आरजूसँग निकटहरुले यो चर्चालाई प्रसारण गरेको बताइन्छ । केही समय यता रामचन्द्र पनि देउवासँग नरम बन्दै गएका छन् । के कारण देउवासँग रामचन्द्र नरम बन्दै गए ? जानकारहरुका अनुसार शशांक कोइराला र शेखर कोइरालामध्ये एकजना सभापतिमा उम्मेदवार बन्ने निश्चित जस्तै देखिएपछि रामचन्द्रले देउवासँग सम्बन्ध सुधारेका हुन् । रामचन्द्रले देउवाका साथै आरजूसँग पनि सम्बन्ध सुधारेको बताइन्छ ।
देउवाको टिमभित्रका केही नेताहरु आगामी महाधिवेशनमा देउवा उम्मेदवार नबन्ने निष्कर्षमा पुग्न थालेका छन् । उनीहरुका अनुसार देउवाको स्वास्थ्य अवस्था खस्कँदै गएको छ र उनलाई बुढ्यौलीले निकै छोइसकेको छ । आउँदो अढाई वर्षभित्र देउवा अरु शिथिल हुने आशंकाले देउवा निकटको एउटा टिमले आरजूलाई अगाडि बढाउन चाहिरहेको छ ।
कृष्णप्रसाद सिटौलाले देउवाको साथ छाडिसकेका छन् । उनी रामचन्द्र र शशांकको समूहसँग निकट बन्दै गएका छन् ।
रामचन्द्रसँग देउवा पनि नरम बन्दै गएका छन् । देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न लागेका छन् । समितिमा चालीस प्रतिशत रामचन्द्रको सिफारिसमा राखिने भएको छ । सिटौलालाई पनि देउवाले कार्यसम्पादन समितिमा राख्ने भएका छन् तर सिटौलाको सिफारिसमा कसैलाई नराखिने भएको छ ।
जानकारहरुका अनुसार कार्यसम्पादनमा बस्न आरजूले पनि इच्छा देखाएकी छन् । तर, आरजूलाई कार्यसम्पादन समितिमा ल्याउँदा ठूलो विरोध देउवाले भोग्नुपर्ने देखिएको छ ।
देउवाप्रति रामचन्द्र नरम बन्दै जानु, देउवाले पनि रामचन्द्रलाई कदर गर्न थाल्नु अनि आरजूको राजनीतिक महत्वाकांक्षा झन बढ्नु संयोग मात्र होइन भनिँदैछ कांग्रेसमा ।










