प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति सेवामा कर्मचारीको संख्या प्रशस्त हुँदाहुँदै पनि ढिलासुस्तीका कारण समयमै काम हुन नसकेको बताएका छन्।

शुक्रबार निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीलाई अहिलेको भन्दा दोब्बर काम गरेर जनतालाई सेवा दिन निर्देशन दिए। उनले कर्मचारीकै कारण काममा ढिलासुस्ती भएको भन्दै त्यसको अन्त्यका साथै सुशासनमा जोड दिन पनि निर्देशन दिए।

‘दुई हप्तामा गर्ने काम एक सातामा गर्न सकिन्छ, कर्मचारी सङ्ख्या पनि पर्याप्त छ’, उनले भने, ‘विषयगत कर्मचारीको अभाव हुनसक्छ तर मुलुकको उत्पादकत्व बढाउने गरी कर्मचारीले काम गर्ने ठाउँ छ। ढिलासुस्ती र अनियमितताको गुनासो सुन्नु नपरोस्।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधामन्त्री ओलीले कर्मचारीले खटाएको ठाउँमा जानै पर्ने बताए। ‘लोकतन्त्रका नममा खटाएका ठाउँमा नजाने, विरोध हडताल गर्ने संस्कार अन्त्य गरी राष्ट्र निर्माणको सङ्कल्प पूरा गर्न सबै लागौँ।’ सङ्घ, प्रदेश र स्थानीय सरकारको नयाँ प्रणाली लागू भएकाले अधिकारको व्यवस्थान र कार्यान्वयनका सन्दर्भमा केही अन्योल समस्या भए पनि सरकारले त्यसलाई क्रमशः मिलाउने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले आधिकारिक ट्रेड युनियन कानूनी हैसियतको संस्था भएको र यसको उद्गम संस्था ट्रेड युनियन सङ्गठन यथावत् रहने स्पष्ट पारे।