मन्त्री बिना मगरले खानेपानी आधारभूत आवश्यकता भए पनि अघिल्ला सरकारले खानेपानीलाई प्राथमिकतामा नराखेकाले नेपालीले खानेपानीका लागि थुप्रै कठिनाइ भोग्नु परिरहेको बताएकी छिन् । मुलुक जलस्रोतमा विश्वको दोस्रो धनी देश भएपनि नेपाली खानेपानीकै लागि ठूलो संर्घष गर्नु परिरहेको बताइन् ।

शुक्रबार झापाको बिर्तामोडस्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पानी प्रशोधन प्रणाली उद्घाटन गर्दै मन्त्री मगरले नेपाली महिलाहरु खानेपानीको लागि घण्टौँसम्म हिडेर मुहानसम्म पुग्नुपरेको स्मरण गरिन् । सहज रुपमा जमिनबाट पानी निकाल्न सकिने क्षेत्रहरुको पानी पिउन योग्य नरहेको बताउँदै मन्त्री मगरले खानेपानी मन्त्रालय व्यवस्थित योजनासहित अघि बढेको बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘हामीले डिभिजन कार्यालयबाट देशैभरको खानेपानीको वास्तविक अवस्थाबारे तथ्यांक संकलन गरेका छौँ,’ मन्त्री मगरले भनिन्, ‘सोही तथ्यांकमा आधारित कार्ययोजना बनाएर अघि बढ्ने तयारीमा छौँ, संकलित तथ्यांक हेर्दा त्यसको स्वरुप भयावह देखियो ।’

सरकारले तीन वर्षभित्र आधारभूत पानीको पहुँचको सुनिश्चितता गर्ने ग्यारेन्टी गरेको बताउदै उनले नेपालीहरु बिना प्रशोधनको पानी पिउन बाध्य रहेको बताइन् । सरकारसँग एक घर एक धाराको नीति भए पनि कार्यन्वयनमा निकै कठिन रहेको उनले बताइन् ।

मन्त्री मगरले कृषिमा सरकारले किसानलाई सहुलियत दिए जस्तै खानेपानीमा पनि नागरिकलाई विशेष सहुलियत दिनुपर्ने बताउदै आफूले उक्त एजेण्डा मन्त्रिपरिषदमा लाने बताइन । खानेपानीको आवश्यकता पूरा गर्न नेपालीले चर्को महसुल तिर्नु परिरहेकोप्रति उनले चिन्ता व्यक्त गरेकिछिन् ।