काठमाडौं- गोरखाको सामागाउँबाट शनिबार बिहान काठमाडौंका लागि उडेको अल्टीच्यूट एयरको हेलिकप्टर धादिङ र नुवाकोटको सीमा स्थल मेघाङमा दुर्घटनामा परेको छ । धादिङको सत्यवती गाउँपालिकास्थित मेघाङको वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको खबर आएको जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी प्रमुख डम्बरबहादुर बिकले जानकारी दिए ।
हेलिकप्टर फेला परेको खबर आएपनि अन्य जानकारी नआएको र नजिकैको प्रहरी चौकीबाट त्यस तर्फ टोली हिडिसकेको उनले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगेपछिमात्र सबै जानकारी आउने बिकले बताए ।
हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए । जसमा एक जना जापानी नागरिक र ६ जना नेपाली थिए ।
हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका ल्हो आनी डाल्पा डिक्की, छोवाङ नुर्बु, सुनिल तामाङ छन् । निश्चल केसी हेलिकप्टरका चालक हुन् ।
अल्टीच्यूट एयरका अनुसार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो ।
काठमाडौं विमानस्थलका अनुसार सो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने समय थियो । विस्तृत विवरण आउन बाँकी छ ।










