गोरखा । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले तत्काल सरकारका मन्त्रीहरु फेरबदल हुने सम्भावना नरहेको बताएका छन् । प्रेस संगठन नेपालले गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले मन्त्रीहरुको फेरबदल हुनेबारे सरकारमा कुनै छलफल नभएको बताएका हुन् ।
‘तत्काल मन्त्री फेरबदल हुँदैछ भनेर सञ्चारमाध्यमले सम्भावनाको कुरा मात्रै गरिरहेका छन्, तर यो शंका मात्रै त्यस्तो कुनै सम्भावना छैन’ उनले भने, ‘सिद्धान्त मन्त्री फेरिनै नहुने भन्ने होइन, थपिन सक्छन्, फेरबदल हुन सक्छन, तर अहिले त्यसको चर्चा छैन ।’
पछिल्लो केहि अराजक तत्वले देशमा अस्थिरता निम्त्याउन लागिपरेको मन्त्री थापाले आरोप लगाएका छन् । पछिल्लो समय तस्करी र सिण्डिकेटका सञ्जाल तहसनहस बनाउन सरकार पूर्णरुपमा सफल भएको बताउँदै उनले जनताले दिएको सम्वृद्धि र सुशासनको जनादेश अनुसार नै सरकारले काम अघि बढाएको उनको भनाई छ ।
‘सुन तस्करी, ठेकेदार र यातायातको सिण्डिकेट थियो, त्यसलाई हामीले पूर्ण रुपमा निस्तेज बनाएर तिनका सञ्जाल तहसनहस बनाएका छौ’ गृहमन्त्री थापाले भने ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रसंगलाई जोड्दै उनले उच्चस्तरिय छानबिन समितिबाट घटनाको अनुसन्धान र छानबिन भइरहेको बताउँदै दोषीलाई कुनै हालतमा कारबाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै गृहमन्त्री थापाले शनिबार नै जिल्ला प्रशासन कार्यालय गोरखाको नवनिर्मित सुविधा सम्पन्न भवनको समेत उद्घाटन गरेका छन् । भवन उद्घाटन पश्चात उनी सुरक्षा समितिको बैठकमा सहभागाी भई जिल्लाको सुरक्षा अवस्थाकाबारे जानकारी लिएका थिए ।
शनिबार हेलिकोप्टरमार्फत गोरखा आएका मन्त्री थापाले गोरखा दरबारको पुनःनिर्माणको अवस्थाका बारेमा समेत स्थलगत अनुगमन गरेका छन् ।










