कायम मुकाय प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले आज नेपाली सेनाको महारथी (प्रधानसेनापति) को दर्ज्यानी पाउने भएका छन्।

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार (२४ भदौ) ११ बजे थापालाई दज्र्यानी चिन्ह प्रदानगर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले नेपालखबरलाई बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्रिपरिषदको बैठकले भदौ २५ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो।

१२ भदौमा नै राष्ट्रपति भण्डारीले थापालाई नेपाली सेनाको प्रधानसेनापतिको रुपमा नियुक्त गरिसकेकी छन्।

हालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले थापालाई सेनाको कमाण्ड हस्तान्तरण गरेर बिदामा बसेका थिए। शुक्रबार क्षेत्रीको बिदाईपछि आईतबार दज्र्यानी सुशोभन समारोह आयोजना भएको हो।

थापाले नेपाली सेनामा नेपालबाटै स्टाफ कलेज गर्ने थापा पहिलो प्रधानसेनापति बन्ने सौभाग्य प्राप्त गरेका छन्।

उनलाई प्रधानसेनापति क्षत्रीले नै भावी प्रधानसेनापतिका रुपमा अघि बढाएका थिए। २ वर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो।

रथी पुर्णचन्द्र थापा सेनाको तर्फबाट विदेशमा फोर्स कमाण्डर हुने थोरै अधिकृतमध्ये पर्छन्। यसअघि फोर्स कमाण्डरको जिम्मेवारी बालानन्द शर्मा, पवनजंग थापा, कृष्णनारायण सिंह थापा र भिक्ट्री राणाले पाएका थिए।

२०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थापाले गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर काम सुरु गरेका थिए।

सेनामा मध्यमतहको कमाण्डरले गर्नु पर्ने स्टाफ कलेज नेपालबाटै गरेका उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स गरेका थिए।

उनले मद्रास विश्वविद्यालयबाट नै फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन्।

रथी थापाले श्रीजंग गुल्मको गुल्मपति, श्रीजंग गणको गणपति, २ नम्बर वाहिनीको बाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रुपमा काम गरीसकेका छन्।

उनले सैनिक मुख्यालयमा जनरल स्टाफ अधिकृत, सैनिक शिक्षालय नगरकोटमा शिक्षक अधिकृत तथा डाईरेक्टिङ्ग स्टाफ, सेनाको महत्वपूर्ण नियुक्ति मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक कार्यरथी तथा संभाररथी विभागको प्रमुख शान्ति सेना सञ्चालन निर्देशनालय, बलाध्यक्षको कार्यालय, बलाधिकृतको कार्यलय लगायतका नेपाली सेनाभित्रका सबैजसो महत्वपूर्ण र गहन जिम्मेवारी बोकेका कार्यलय तथा विभागहरुको नेतृत्व सम्हालेका थिए।

रथी थापाले संयुक्त राष्ट्र संघमा पटक पटक गरी लामो समय सेवा गरी यथेष्ठ अनुभव हासिल गरेका छन्। थापाले सन् १९८६ मा युनिफिल मिसन लेवनानमा नेपाली कन्टिन्जेन्टमा सेमुपति, सन् १९८९ मा युनिफिल मिसन मुख्यालयमा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका थिए ।

त्यसैगरी, सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमिकामा अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्निया–हर्जगोभिनिया र क्रोयशिया) मिशनमा सफल भूमिका निर्वाह गरेका थिए।

संयुक्त राष्ट्र संघको उच्चतहको अनुभव बटुल्ने क्रममा थापाले सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व हुनेगरी युनाईटेड नेशन्स मिशन ईन नेपाल (जेएमसिसी) को संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रुपमा काम गरेका थिए। नेपाल खबर बाट