१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या अभियोग लागेका दिलीपसिंह विष्टलाई महेन्द्रनगर ल्याइएको छ। मानसिक सन्तुलन ठिक नभएका विष्टलाई १० दिन काठमाडौं राखेर स्वास्थ्य परीक्षण पछि महेन्द्रनगर ल्याइएको हो।
NIC ASIA
विष्टलाई निर्मलाको हत्या भएको २६औं दिनमा प्रहरीले मुख्य आरोपीका रुपमा सार्वजनिक गरेको थियो। उनको मानसिक अवस्था ठीक भए/नभएको र यौन उत्तेजना परीक्षण गर्न प्रहरीले काठमाडौं लगेको थियो। विष्टसँगै उनको स्वास्थ्य परीक्षण रिपोर्ट पनि आएको छ। तर, शिलबन्दी भएकाले रिपोर्टमा के छ, जानकारी हुन सकेको छैन।
कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले स्वास्थ्य परीक्षणको रिपोर्ट शिलबन्दी रुपमै अदालतमा पेश गर्ने बताए। विष्टलाई आईतबार जिल्ला अदालतमा पेश गर्ने तयारी भएको डिएसपी ओझाले जानकारी दिए।
यता, विष्टको परिवारले भने उनी निर्दोष रहेको र जवर्जस्ती फसाइएको बताउँदै आएका छन्। दिलीपका दाजु खडक विष्टले आफ्नो भाईलाई प्रहरीले नाटकीय ढंगले पक्राउ गरेर दोषी बनाउन खोजेको बताएका थिए। तर, विष्ट परिवार अझै उनी निर्दोष भएपनि निर्दोष सावित हुनेमा आशंका गरिरहेको छ।
शनिबार नेपालखबरसँग कुरा गर्दै खडकले भने, ‘हामीलाई अझै पनि शंका छ। जसरी राज्य संयन्त्र नै लागेर निर्दोषलाई फसाउने चाल गरियो, अब पनि दर्जनौं दोषीहरुलाई कारवाही गर्न भन्दा यही एउटालाई बलिको बाख्रो बनाइन्छ कि भन्ने चिन्ता छ।’
उनले घटनाको छानविन गर्न नयाँ टिम आएपछि प्रहरीले प्रमाण नष्ट गर्न खेलेको भूमिका बुझेको र प्रहरी महानिरीक्षकले नै आफ्ना प्रहरी अधिकारीहरुले बदमासी गरेको कुरा बताइसकेकोले ‘दुधको दुध पानीको पानी’ हुन्छ कि भन्ने केही आशा जागेको बताए।
तर, प्रधानमन्त्रीले नेपाल टेलिभीजनमा दिएको अभिव्यक्तिले राज्य संयन्त्र अझै पनि अपराधी लुकाउन लागिपरेको त छैन भन्ने आफूहरुमा थप आशंका जागेको खडकले बताए।
उनले शनिवार प्रहरी हिरासतमा भाई दिलीपलाई भेटेपछि उ निकै निराश देखिएको जानकारी दिए। दिलीपको भनाई उदृत गर्दै दाजु खडकले भने, ‘म निर्दोष छु, मलाई बचाउनुहोस्’
यसअघि महेन्द्रनगर पुगेका प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाई शुक्रबार भेटेर खडकले भाई निर्दोष भएको र तत्कालिन अनुसन्धानमा खटिएका प्रहरीले फसाउन खोजेको गुनासो गरेका थिए। उनले प्रहरीले घरबाटै सर्टको टुक्रा लगेर घटनास्थलमा फालेर फर्जी प्रमाण देखाउन खोजेको खनाललाई जानकारी गराएका थिए। स्वास्थ्य परीक्षणका नाममा काठमाडौं लगेर चरम यातना दिने काम भएको भन्दै उनको रिहाईका लागि पहल गरिदिनसमेत खडकले आग्रह गरेका थिए।
जवाफमा महानिरिक्षक खनालले घटनाको अनुसन्धानमा कुनै कमी कमजोरी हुन नदिन कडा निर्देशन दिएको बताएका थिए। प्रहरी महानिरिक्षक खनालले पीडित परिवारलाई समेत भेटेर दोषी पत्ता लगाई छाड्ने आश्वासन दिएका थिए। उनले बिहिबार यहांँ पुगे लगत्तै घटनास्थलको पनि निरिक्षण गरेका थिए।
घटना भएको २६ औं दिन भदौ ४ गते विष्टलाई सार्वजनिक गरिएपछि पीडित परिवार र स्थानीयले मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई फसाउन खोजिएको भन्दै महेन्द्रनगरमा आन्दोलन चर्केको थियो। प्रहरीले वास्तविक अपराधी उम्काउन विष्टलाई फसाएको स्थानीय र पीडित परिवारको आरोप छ।
भदौ ७ र ८ गते आन्दोलनले उग्र रुप लिदा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थियो। ८ गते प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका १८ का १३ वर्षिया शनि खुनाको मृत्यु भएको थियो।
गृह मन्त्रालयले अनुसन्धानमा लापरवाही गर्ने तत्कालिन प्रहरी प्रमुख एसपी डिल्ली विष्टलाई निलम्बनसमेत गरेको थियो। यसैगरि प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडका, डिएसपी ज्ञान बहादुर सेठी र अनुसन्धान अधिकृत एकिन्द्र खडका लगायतलाई पनि केन्द्रमा तानेर नयांँ प्रमुख जिल्ला अधिकारी, एसपी र डिएसपी पठाएको थियो।
यसैगरि घटनाको छानविनका लागि गृह मन्त्रालयका सहसचिव हरि प्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानविन समिति समेत गठन गरेको थियो।
नयांँ प्रहरी अधिकारीहरू आएपछि प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरी स्थानीयले शंकाको घेरामा राखेका बम दिदी बहिनी रोशनी र बविताको पनि तेस्रो पटक म्याद थप गरिएको छ । भदौ ७ गते पक्राउ गरिएका उनीहरूलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक बिहिबार ५ दिनको म्याद थप गरिएको डिएसपी ओझाले जानकारी दिए।
रोशनी र बविताको यसअघि नै सरकारी वकिलको कार्यालयमा बयान लिने काम भईसकेको छ।
घटना लगत्तै तत्कालिन प्रहरी प्रमुख तथा अनुसन्धान टोलीले अनुसन्धानमा लापरवाही सँगै प्रमाण मेटाउने काम गरेको राष्ट्रिय मानव अधिकार आयोग र उच्चस्तरीय छानविन समितिले प्रारम्भिक निश्कर्ष निकालेको छ। आयोगले बिहिबार र समितिले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त निष्कर्ष सार्वजनिक गरेको हो। नेपाल खबर बाट










