नेकपाका नेता राम कार्कीले वर्तमान सरकार कम्युनिस्ट चरित्रको नभएको आरोप लगाएका छन् । उनले वर्तमान सरकारको कार्यशैलीले आफूलाई कम्युनिस्ट पार्टीको नेता हुँ भन्नसमेत लाज लाग्ने अवस्था आएको टिप्पणी गरे ।

‘मुलुकमा दुई तिहाई बहुमतप्राप्त कम्युनिस्ट नेतृत्वको सरकार छ । तर मजदुरहरुको जीवन कष्टकर बन्दै गएको छ, महंगी बढेको बढ्यै छ,’ कार्कीले भने, ‘सरकारको यस्तो रवैयाले जनतामा आक्रोस पैदा हुन थालेको छ । कम्युनिस्ट पार्टीको नेता हूँ भन्नसमेत लाज लाग्ने अवस्था आएको छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजाहरुमध्ये सबैभन्दा शक्तिशाली ज्ञानेन्द्रलाई जनताले ५ वर्ष टिक्न नदिएको स्मरण गराउँदै उनले प्रतिप्रश्न गरे– ज्ञानेन्द्र त ५ वर्ष टिकेनन्, हाम्रो अवस्था के होला ?

कार्कीले सामन्तवादको अन्त्य भए पनि दलाल पुँजीवादसँगको लडाइँ जारी रहेको भन्दै यसविरुद्ध हुने लडाइँको नेतृत्व लिन युवा नेताहरुलाई आग्रह गरे ।

‘हामीले सामन्तवादलाई परास्त गरेर यहाँसम्म ल्यायौं । अबको हाम्रो लडाइँ भनेको दलाल पुँजीवादसँगको हो,’ कार्कीले भने, ‘दलाल पुँजीवादसँग लड्ने जिम्मेवारी तपाईं युवाहरुहरुको हो । तपाईंहरु लडे समाजवादले जित्छ, नलडे दलाल पुँजीवादले ।’

नेकपाका अर्का नेता डा. विजय पौडेलले पार्टी पद्धति अनुसार चल्न छाडेको उल्लेख गर्दै सामाजिक चेतनालाई समाजवादमा नलगेसम्म संविधानमा लेख्दैमा समाजवाद स्थापित हुन नसक्ने बताए । उनले नयाँ पुस्तामा उपभोक्तावादको प्रवृत्ति विकास भएको उल्लेख गर्दै सैद्धान्तिक जागरण ल्याउन नसके उपभोक्तावादले देशलाई नै सिध्याउने बताए ।

यो सरकार असफल भए नेता मात्र असफल नभई कार्यकर्ताको समेत जहाज डुब्ने उल्लेख गर्दै पौडेलले सत्ताको दुरुपयोग रोक्न सबैले खवरदारी गर्नु जरुरी रहेको बताए ।

अर्का नेता ठाकुर गैरेले सिंगो पार्टी पंक्तिभित्र फेरि एकपटक माक्र्सवादको जागरण ल्याउनुपर्ने बताए । अनलाइन  खबर बाट