काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा पहिलो चोटी सबै प्रदेशका मुख्यमन्त्रीहरु सम्मिलित बैठक आइतबारको लागी आव्हान गरिए पनि स्थगित भएको थियाे ।
संविधानको धारा २३४ मै बैठक आव्हान गर्न उल्लेख गरेपछि अन्तरप्रदेश परिषद्को बैठक प्रधानमन्त्रीले आइतबारको लागी बोलाउनुभएको थियो । अाजकाे नयाँपत्रिका दैनिकमा खबर छ ।
बैठकमा भाग लिन बसेका मुख्यमन्त्रीहरुले प्रदेशको अधिकार केन्द्रमै सिमित राखेको भन्दै असन्तुष्टि जनाएका थिए । उनिहरुले साझा कानुन बनाउन केन्द्रले ढिलासुस्ति गरेको र कर्मचारी समायोजनमा पनि केन्द्रले वेवास्ता गरेको भन्दै गुनासो गरेका थिए ।
वित्तीय रुपमा पनि केन्द्रमा निर्भर हुनुपर्ने बाध्यता भएको भन्दै सामुहिक धारणा बनाउन मुख्यमन्त्रीहरु पोखरामा भेला पनि भएका थिए । उनिहरुले बैठकमा प्रधानमन्त्री समक्ष यस्ता असन्तुष्टिहरु लिखित रुपमा राख्ने निर्णय गरेका थिए ।
तर भेला भएका मुख्यमन्त्रीहरु पोखराबाट काठमाडौं नआइपुग्दै प्रधानमन्त्रीले ‘बैठक स्थगित’ भएको सूचना दिनुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले थप तयारीको लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।










