गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेल रिहा भएका छन् । आइतबार चितवन जिल्ला अदालतका मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला गरेपछि डिल्लीबजार कारागारमा थुनामा रहेका पौडेल सोमबार बिहान रिहा भएका हुन ।
पौडेललाई सोमबार आफन्तजन र नेकपा कार्यकताले बाजागाजासहित फूलमाला लगाएर डिल्लीबजर कारागार बाहिर स्वागत गरे । गत असार २४ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका पौडेललाई सोही दिन पुर्पक्षका लागि डिल्ली बजार कारागार चलान गरिएको थियो ।
गोरखा फुजेलका कृष्ण अधिकारीको चितवन रत्ननगरस्थित हजुरबुवा–हजुरआमा भेट्न गएका बेला २०६१ जेठ २४ गते हत्या गरिएको थियो । त्यो बेला हत्याको जिम्मेवारी नेकपा माओवादीले लिएको थियो । घटनापछि कृष्णप्रसादका दाजु र बुवाले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।
तर, कारबाही नभएपछि छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशनमा बसे । अनशन सुरु गरेपछि २०७० साउनबाट चितवन प्रहरीले अनुसन्धान बढाएको थियो । प्रहरीले अनुसन्धान पुरा गरे पनि मुद्दा चल्ने नचल्ने भन्ने विषयमा विवाद उठेको थियो ।
कृष्णका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले अनशन जारी नै राखेपछि २०७० साल चैत्र ३० मा चितवन जिल्ला अदालतमा १३ जना बिरुद्ध मुद्दा दायर भएको थियो। आमा गंगामायाले केहीअघि अनशन तोडेकी थिइन् ।
अब फेरि अनसन बस्छु : गंगामाया
यसैबीच कृष्णप्रसादकी आमा गंगामाया अधिकारीले फेरि अनसन बस्ने बताएकी छिन् । आफूमाथि अन्याय भएको उनको भनाई छ । उनले भनेकी छिन्, ‘म अनशन बस्छु। राज्य र मानवअधिकारवादीले मलाई ठगे । यो देशमा न्याय पाइँदैन ।’
उनले आफू बाँच्नुको अर्थ नरहेको बताएकी छन् । उनले सञ्चार माध्यमहरुसँग भनेकी छिन्, ‘अब मैले बाँच्नुको केही अर्थ रहेन। बरु मलाई अवरोधबिना मर्न दिए हुन्छ ।’
उनले अघिल्लोपटक गलत आश्वासनमा परेर अनशन तोड्ने अवस्थामा पुगेको बताइन् । भनिन्, ‘मेरा छोराका हत्यारालाई आज अदालतले सबैलाई सफाइ दिएको सुनें । अब म केका लागि बाँच्नु? बाँच्दिनँ ।’
कृष्णप्रसाद हत्याका आरोपितमध्येका एक छविलाल पौडेललगायतका आरोपितलाई पक्राउ गर्ने र कारबाही प्रक्रिया अघि बढाउने सर्तमा गंगामायाले पछिल्लोपटक अनशन तोडेकी थिइन् ।










