काठमाडौंको किर्तिपुरमा बन्धक बनाई बलात्कार गरेको अवस्थामा प्रहरीले एक बालिकाको उद्धार गरेको छ। साथै घटनामा संलग्न युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ।
कैलालीको घोडाघोडी घर भई हाल काठमाडौं किर्तिपुर-७, हनुमानघाट बस्ने २५ वर्षीय हेमबहादुर खत्रीले आफ्नो डेरामा बन्धक बनाई राखेको अवस्थामा प्रहरीले आइतबार साँझ ती बालिकाको उद्धार गरेको हो।
सिन्धुपाल्चोक घर भएकी ती १४ वर्षीया बालिकासहित सोही जिल्लाकै अर्की १३ वर्षीया बालिकालाई समेत खत्रीले चार दिनसम्म बन्धक बनाई बलात्कार गरेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भई ललिपुरको इमाडोल डेरा गरी बस्ने ती दुई बालिका यही भदौ २१ गते साँझ बानेश्वर जाने गाडीमा चढेका थिए। सोही गाडीमा रहेका खत्रीले दुवै बालिकालाई ललाई-फकाई आफ्नो डेरामा लगेर बन्धक बनाएको प्रहरीले जानकारी दिएको छ।
एक बालिकालाई अाइतबार बिहान बल्खु ल्याएर छाडेपछि उनले प्रहरीलाई फोन गरेकी थिइन्। त्यसपछि प्रहरी वृत्त किर्तिपुरबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काकाे नेतृत्वमा गएको टोलीले बालिकाकाे उद्धार गर्दै खत्रीलाई नियन्त्रणमा लिएकाे हाे।
पीडित दुवै बालिकालाई स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित प्रसूति गृह पठाइएको र अभियुक्त खत्रीलाई हिरासतमा राखी घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले नेपालखबरलाई जानकारी दिए।
‘बालिकालाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको अवस्थामा हामीले पक्राउ गरेका हौं,’ उनले भने, ‘यस विषयमा महानगरीय प्रहरी परिसरले थप अनुसन्धान गरिरहेको छ।’
बालिकालाई बन्धक बनाई बलात्कार गरिएको ठाउँ प्रहरी वृत्त किर्तिपुरबाट २ किलोमिटर पूर्व पर्छ। नेपाल खबर बाट










