रजंन भण्डारी

महोत्तरी । दूधको मूल्य कम भयो र मिल्क होलिडे हुँदा डाँड लाग्यो भनेर किसानहरुले आन्दोलन गर्दै सडकमा दूध पोखाएको धेरै पटक सुनियो र देखिएको छ । तर यतिबेला महोत्तरीमा प्रतिलिटर २ सय ५० मा दूध बिक्री भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दूध किन्न बिहानै देखि मानिसहरु दुहुना भएको घर र डेरीहरु चाहार्दै छन् । डेरीहरुमा दुध किन्नेहरु भाँडो हातमा लिएर पंक्ती लागेर बसेका छन् । लिटरको २ सय ५० हाल्दा पनि दूध नपाउँदा पर्व कसरी मनाउने सर्वसाधारणहरु भन्दै सुर्ताएका छन् ।

यतिबेला तराईमा हरेक घरमा दूधको आवश्यकता परेको छ । पहाडे समुदायका महिलाहरुको पर्व तीज र मधेसी समुदायमा मनाइने चौठी पर्व एक दिनको अघिपछि पर्छ । तीजमा चेलीबेटीहरुले दर खान दूध, दही , मोही र दूधबाट बनेका मिठाईहरु चाहिन्छ । त्यसैगरी चौठी पर्वमा गरिने चन्द्रमाको पूजाको लागि चढाइने नैवेद्यमा घरमै शुद्ध र पवित्र तरिकाले जमाएको दही र खीर अनिवार्य हुन्छ । चौठीमा प्रियजन र छिमेकीहरुलाई बोलाएर मिठो मसिनो पकवान खुवाउने चलन भएकोले पनि दूध र दहीको आवश्यकता पर्छ ।

गाई र भैंसी दुहुना भएको घरहरुमा दूध किन्ने मानिसहरुको भीड लागेको छ । दूध थोरै र ग्राहक धेरै भएको कारण दुधमा सरावरी पानी मिसाएर बाँडदा पनि पुग्दैन । कतिपय स्थानमा दूधको गर्जो टार्न दुहुना भएका घरहरुले एक एक गिलास दामासाहीले दूध बाँडेका छन् । जलेश्वरका रामभरोस साह भन्छन्, एक गिलास दूध पाईयो । यसैलाई तताएर जमाएर नैवेद्यका लागि चाहिने दही बनाउँछौँ र चौठी पर्व मनाउँछौं । उनले निरास हुँदै भने, ‘खीरको लागि दूध पाइएन ।’

तीज र चौठीमा दूध र दहीको धेरै माग हुने भएकोले डेरी उद्योगहरुले पाउडर दूध घोलेर बिक्री गर्छन् र पाउडर दूधकै दही बनाएर बिक्री गर्छन् । तर चौठीमा नैवेद्यका लागि गाई भैंसीकै दूध र घरमै जमाएको शुद्ध र पवित्र दही चाहिने भएकोले दूधको हाहाकार भएको हो । चौठी पर्वका लागि दूधको जोहो गर्न एक साता अघिदेखि दुहुना भएका घरहरुमा दूधको बुकिङ्ग गर्न मानिसहरुको धुइरो लाग्छ ।