काभ्रे, २६ भदौ – गृहमन्त्री रामबहादुर थापाल बादलले निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजीनामाको विषयमा चासो व्यक्त गरेका छन् ।
जिल्ला सहकारी संघ, काभ्रेको साधारणसभामा सहभागी हुन आएका गृहमन्त्री बादलले यो विषयलेआफूलाई गम्भीर बनाएको बताए । उनले भने, किन राजीनामा आयो भन्ने विषयमा हामी छानविन गर्छौं ।’
छानविन समितिका सदस्य वीरेन्द्र केसीले सोमबार राजीनामाको घोषणा गरेका थिए । प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका उनले समितिको म्याद थप भएकोमा असन्तुष्टि जनाएका छन् र घटनाका मुख्य अपराधीबाट आफूलाई असुरक्षा भएको दाबी गरेका छन् ।
त्यस्तै गृहमन्त्री वादलले मन्त्री हेरफेरको हल्ला निराधार भएको दाबी गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीले स्पष्ट पारिसक्नु भएको छ, कुनै निराधार हल्लाको पछाडि लाग्नुको अर्थ छैन । सरकारमा कुनै फरबदल हुँदैन ।’ काठमान्डु टुडे बाट










