दिप्सन खत्रि उर्लाबारी । दुवै मृगौला बिग्रीएर उपचारमा आर्थिक समस्यामा परेकी मिक्लाजुङ–१ रमितेकी २२ बर्षीया उमा गुरुङ (राई)को उपचारको लागि आर्थिक सहयोग जुट्न थालेको छ । हाल मलेसियामा रहेका मिक्लाजुङ ५ निवासी गुप्ती निवासी भीम मगरले नगद १५ हजार १ सय १५ रुपैंया सहयोग पठाउनुभएको हो । उक्त रकम मंगलवार एक कार्यक्रमका बिच उमा गुरुङ (राई) बचाउ अभियानका सचिव तोया राईलाई हस्तान्तरण गरिएको छ । उक्त रकम टाँडी युवा क्लवका अध्यक्ष महेन्द्र थेगिम,उर्लाबारीका गोरखापत्र दैनिकका पत्रकार हरि कोईराला,विवेचना दैनिकका तेजन खड्का र युवा मन नेपालका किशोर श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।
भीम मगरले महेन्द्र थेगिमको पहलमा उक्त रकम पठाउनुभएको थियो । मगरले अनलाईन कुराकानीमा आफ्नो गाउँको चेलीको उपचारमा आर्थिक समस्या भएको समाचार पढेको र ज्यान बचाउन खातिर सहयोग गरेको बताउनुभएको छ । मगरले यसअघि पनि विभिन्न सामाजिक काम सहयोग गर्दै आउनुभएको थियो ।
परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि शुभचिन्तक समक्ष सहयोगको हात फैलाईएको उमा गुरुङ (राई) बचाउ अभियानका संयोजक कबिन्द्र राईले बताउनु भएको छ । उहाको अनुसार उमाको उपचारमा अहिलेसम्म ७ लाख रुपैयाँभन्दा बढी खर्च भईसकेको छ । उमाको तीन बर्षे काखे छोरा रहेका छन् भने पति बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा हुनु हुन्छ । उहाले मलेसियामा कमाएको रकम सबै उपचारमा सकिसक्नु भएको छ ।
काका ससुरा उमेश राईका अनुसार, उमालाई दिदीले मृगौला दिन लाग्नु भएको हो । तर हाल उपचारमा लाग्ने खर्च एकदमै अभाव छ । उनको उपचारका लागि झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उमाको उपचारमा सहयोग पुर्याउन चाहानुहुने सहयोगी महानुभावले बचाउ अभियानका सचिव तोया राईलाई ९८२३७१५४६१ मा सम्पर्क गर्न सक्नुहुनेछ ।










