काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरकी–१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारमा संलग्न भनेर प्रहरीले पक्राउ गरेका दीलिपसिंह बिष्ट रिहा भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरले बिष्टलाई जमानी जिम्मा तथा साधारण तारेखमा रिहा गर्न आदेश दिएको प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए । उनका अनुसार बम दिदिबहिनीलाई पनि रिहा गरिएको छ । बहिनी रोशनीलाई जिम्मा जमानी र दिदि बबितालाई ३० हजार धरौटीमा छोडिएको उनले हाम्राकुरालाई जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, सरकारी वकिल कार्यालयले निर्मलाको डिएनएको प्रोफाइल तयार भएको जनाएको छ । निर्मलाको डिएनएसँग दिलिपसिंह बिष्टको डिएनएसँग म्याच खाएन, सरकारी वकिल खेमराज भट्टले भने, ‘त्यही भएर उनलाई हिरासतमुक्त गर्ने निर्णय भएको हो ।’

घटनाको २४ दिनपछि भदौ ४ गते प्रहरीले दिलिसिंह बिष्ट नै घटनाको मुख्य अभियुक्त भनेर पक्राउ गरी सार्वजनिक गरेको थियो । त्यो बेला प्रहरीले दिलिप मानसिक सन्तुलन ठिक नभएको समेत भनेको थियो ।

उनको डिएनए र मानसिक अवस्था जाँच गर्न प्रहरीले दुई हप्ता भन्दा बढी काठमाडौंमा राख्यो । अन्ततः उनको डिएनए मेल खाएन । घटनाको अनुसन्धानमा संलग्न तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्ट र डिएसपी अंगुर जिसी निलम्बनमा परेका छन् । गृहमन्त्रालयले बनाएको छानविन समिति उनीहरुको बयान लिईरहेको छ ।

समितिका एक सदस्यले म्याद थप गरेर गाेलमाल गर्न खाेजेकाे भन्दै राजीनामा दिएका छन् । गएको साउन १० गते घरबाट साथीको घरमा पढ्न गएकी निर्मलाको भोलिपल्ट साउन ११ गते बम दिदीबहिनीको घरबाट ६ सय मिटर पर उखुबारीमा शव फेला परेको थियो । हाम्राकुरा ड्ट कम बाट साभार