काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढंगको रहेको बताएका छन् । गृहमन्त्रालयमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग आज भएको भेटमा गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।
गृहमन्त्री थापाले शान्ति प्रक्रियापछि संविधानसभाबाट बनेको नेपालको संविधानले हरेक क्षेत्र, जाति, लिङ्ग, समुदायको समावेशी, समातुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरेको दाबी गरे ।
उनले राजनीतिक परिवर्तनपछि अब नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढेको बताउँदै अफगानिस्तानमा सुरु भएको शान्ति प्रक्रिया नेपालका लागि पनि उदहरणीय हुने भन्दै शान्तिप्रक्रियाको सफलताका लागि शुभेक्षा समेत व्यक्त गरे ।
उनले भने, ‘हरेक युद्धका कारण हुन्छन, ती कारणको पहिचान गरेर त्यसलाई समाधानको उपाय निकाल्नुपर्छ । त्यसो भएमा मात्रै शान्ति कायम हुन्छ ।’
अफगानिस्तानका पूर्वमन्त्री एवम् शान्ति परिषद्का उपाध्यक्ष हबिबा सराबी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको सेना समायोजन प्रक्रिया, संविधान लेखन लगायतको प्रक्रियाबारे गृहमन्त्रीसँग चासो राखेको थियो ।
उनीहरुले नेपालको शािन्तप्रक्रियाबारे जानकारी लिन र सिक्ने उद्देश्यले आफूहरु नेपाल भ्रमणमा आएको जानकारी दिएका थिए ।










