काठमाडौं, गत साउन दश गते हत्या गरिएकी निर्मला पन्तका आमा बुवाले सरकारबाट उचित न्याय नपाएको दुखेसो गरेका छन् । अनुसन्धान प्रक्रियाले वास्तविक हत्यारा खोज्न नसकेको भन्दै राजधानी आएका बुवा आमाले आज एक पत्रकार सम्मेलनमार्फत ‘छोरीको हत्यारा खोज्न’ प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष गुहार गरे ।

राष्ट्रपति आफै महिला भएकोले पीडा बुझ्न आग्रह गर्दै निर्मलाकी आमाले आफ्नै छोरी सम्झेर निर्मलाको हत्यारा खोज्न साथ दिन अनुरोध गरिन । “ न्याय दिनुहुन्छ भनेर प्रधानमन्त्रीको शरणमा आएका छौं । राष्ट्रपति पनि आमा हुन् । मेरो मात्र छोरी नसम्झिनुस् । तपाईंको पनि छोरी सम्झिनुस् । मेरो छोरीको ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सम्झेर न्याय दिनुहुन्छ भनेर आएकी छु ।” उनले भनिन् । छोरीको बलात्कारपछि हत्या भएपछि देश नै रोइरहेको अवस्थामा पनि सरकारले आफूलाई सहयोग गर्नुको साटो पीडकलाई नै साथ दिएको उनको आरोप थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

न्याय नपाएर घर नफर्किने बताउँदै उनीहरुले न्याय नदिने भए बरु मार्नुस् भन्दै भावुक अभिव्यक्ति दिए ।

पन्त दम्पत्तिले राजधानीमा आजै दुईवटा पत्रकार सम्मेलनमार्फत आफ्ना पीडा पोखेका छन् । रिपोर्टस क्लब र मिडिया डबलीमा भएका कार्यक्रममा उनीहरुले प्रहरी प्रशासनले हत्याराको पक्षमा अनुसन्धान गरेको बताए ।

सरकारले घटनालाई संवेदनशीलरुपमा लिएर अनुन्धानलाई निष्पक्ष बनाउन उनीहरुको आग्रह थियो । घटनामा आशंका गरिएका बम दिदी बहिनीहरुका पक्षमा प्रधानमन्त्रीले सहानुभूति प्रकट गरेकोमा समेत निर्मलाकी आमाले दुखेसो व्यक्त गरिन ।