एजेन्सी – गत अगष्ट ३१ तारिखका दिन चण्डीगढको पंजाव विश्वविद्यालयको स्टुडेण्ट सेन्टरमा विद्यार्थीहरुको भीड जम्मा भएको थियो । भीडको अघिल्लो पंक्तिमा विश्वविद्यालयका नयाँ–पुराना विद्यार्थी नेता उभिएका थिए ।

उनीहरु निर्वाचनमा खडा भएका उमेद्वारहरुको बारेमा चर्चा गरिरहेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यो लाइनमा सबै युवकहरु थिए । एक जना मात्र युवती थिइन् । यी युवतीले पनि अध्यक्ष पदको उमेद्वारी दिएकी थिइन् ।

निर्वाचनमा युवकहरुमध्ये एकले जित्ने भन्ने आम आकंलन थियो, किनकी उक्त विश्वविद्यालयमा कहिल्यै कुनै युवतीले प्रमुख पद जितेका थिएनन् ।

केही छात्र विद्यार्थीहरु वामपन्थी विद्यार्थी संगठन स्टूडेन्ट अफ सोसाइटी(एसएफएस)ले अघिल्लो वर्षजस्तै यो पटक पनि युवती उठाएर गल्ती गरेको भनिरहेका थिए । युवती नउठाएको भएर एसएफएसले सजिलै जित्ने उनीहरुको भनाई थियो ।

त्यहाँका अरु छात्र नेताहरुको कुरा सुनेर उक्त युवा नेतृको मन अलिकति पनि कमजोर भएन किनकी उनको संगठनको उनीमाथि पूरा समर्थन र भरोसा थियो । ती युवा नेतृ थिइन् कनुप्रिया ।

यो पटक पंजाब विश्वविद्यालयका अन्य सबै विद्यार्थी संगठनहरुले पुरुष उमेद्वारलाई निर्वाचनको मैदानमा उतारेको थियो । चाहे त्यो संघ परिवार(भाजपाको मातृ संगठन) को विद्यार्थी संगठन एबीभीपी होस् अथवा कङ्ग्रेसको एनएसयुआई होस् वा अकाली दलसँग जोडिएको एसओआईनै किन नहोस् ।

पुरुष उमेद्वारबीच एसएफएसको उमेद्वार कनुप्रिया एक्ली महिला उमेद्वार थिइन् । बाँकी बलिया पार्टीहरुले आफ्नो उमेद्वारको पक्षमा फिल्म, पार्टी, खाना र भ्रमणको व्यवस्था गरिरहदाँ कनुप्रियाले विद्यार्थीहरुलाई मुद्दाको आधारमा भोट दिन अपिल गरिरहिन् ।

उनले आफ्नो चुनावी भाषणमा एसएफएसद्वारा विगतमा शुल्क वृद्धि विरुद्ध गरेको प्रदर्शनहरुलाई सम्झन भनिन् । साथै उनले क्याम्पसमा महिलाहरुको स्वतन्त्रताको लागि आफूहरुले गरेको संघर्षहरु सम्झन भनिन् ।

हेर्दा हेर्दै कनुप्रियाको पछाडि युवतीहरुको भीड जम्मा हुन थाल्यो । यो भीडसँग डराएर पंजबा विश्वविद्यालयका प्रशासन एबीभीपीलाई जिताउने प्रपंच गर्न थाल्यो । विश्वविद्यालयका नयाँ कुलपतिको संघ परिवारसँग सम्बन्धता रहेको आशंका गरिन्छ । तर निर्वाचनमा प्रशासनको प्रपंचहरुले पनि काम गरेन ।

सेप्टेम्बर ६ को दिन भएको निर्वाचनको मतगणना सोही दिन सुरु भएको थियो । मतगणनामा सुरुबाटै कनुप्रियाले अग्रता लिएकी थिइन् । त्यही बेलादेखि विद्यार्थी सेन्टरमा भगत सिंहको फोटो लहराउन थालिसकेको थियो । राति आठ बजे कनुप्रियाको जितको आधिकारिक घोषणा भयो ।

घोषणासँगै पंजाब विश्वविद्यालयमा एक नयाँ इतिहास लेखिएको थियो । उसले आफ्नो पहिलो महिला विद्यार्थी अध्यक्ष पाएको थियो । कनुप्रियाले २८०२ भोट हासिल गरेर अविभिपीका उमेद्वार आशीष राणालाई ७१९ भोटको भारी अन्तरले हराइन् ।

जित पछि कनुप्रियाको भनिन् ,“यो जीत मेरो मात्रैको एक्लो जीत होइन, हामी सबैको जीत हो । यसमा यस अघि निर्वाचनमा उठेर महिलाहरुको आत्मवश्वास बढाउने हसनप्र्रीतको विशेष योगदान छ । यो हाम्रो प्रतिनिधित्वको लडाईको साथ–साथै मुद्धाको लडाई पनि थियो जसमा हामीले जीत हासिल गरेका छौं ।”

जीतको उत्सबलाई प्रसिद्ध पंजाबी फिल्म निर्देशक जतिन्दर मोहरले केही टाढा टाढा बसेर हेरिरहेका थिए । उनले पंजाब विश्वविद्यालयको विद्यार्थी राजनीतिलाई समेटेर सन् २०१३ मा सिंकन्दर फिल्म पनि बनाएका थिए । फिल्मले विश्वविद्यालयको राजनीतिलाई सटिक ढंगले चित्रित गरेको छ । उनले यो जीतले पंजाब क्षेत्रमा बलियो रहेको पितृसत्ताको लागि धक्का भएको बताए ।

पंजाब विश्वविद्यालयमा कुनप्रियाको जीत त्यो प्रदेशमा महिलाहरुको लागि प्रेरणा भएर आएको छ ।

मिडिया भिजिलबाट श्रवण उप्रेतीद्वारा अनुवाद