काठमाडौं, भदौ २९

नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिला पाँच विकास क्षेत्रमा स्थापना भएको प्रहरी विद्यालय देश सङ्घीयतामा गएपछि सातै प्रदेशमा हुने गरी बाँकी दुई प्रदेशमा थप गर्न लागिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।

‘जेठ २७ को मन्त्रिपरिषद्को बैठकअनुसार सबै प्रदेशमा प्रहरी विद्यालय पुर्याउने लक्ष्यअनुसार प्रदेश ३ को (भरतपुर) चितवन र कर्णाली प्रदेशकोे (छिन्चु) सुर्खेतमा प्रहरी विद्यालय स्थापना गर्न लागेका हौँ,’ उहाँले भन्नुभयो ।

प्रदेश १ को धरान (सुनसरी), प्रदेश २ को गरुढा (रौतहट), गण्डकी प्रदेशको को बेलचौतारा (तनहुँ), प्रदेश ५ को घोराही (दाङ) र प्रदेश ७ को धनगढी (कैलाली) का प्रहरी विद्यालयमा विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् । सबै प्रदेशमा माध्यामिक तहसम्म पढाइ हुनेछ । प्रहरी विद्यालय साँगामा उच्च माध्यामिक तहसम्मको पढाइ हुँदै आएको छ । दुई प्रदेशमा विद्यालय थप गरेपछि प्रहरीबाट सञ्चालित नौ विद्यालय हुनेछन् ।

प्रहरी प्रधान कार्यालयले नयाँ बन्ने प्रहरी विद्यालयका लागि प्रहरी निरीक्षकको नेतृत्वमा २५ दरबन्दीसमेत निकाशा गरिसकेको छ । सबै प्रदेशमा विद्यालय स्थापना भएसँगै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल देशभर सात प्रहरी विद्यालयमा झण्डै छ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् ।