काठमाडौं । शनिबार, बिदाका दिन । अभ्यस्त जिन्दगीमा पाइने एक दिन बिदा सदुपयोग गर्दै सर्वसाधारण रमाउन चाहन्छन् । तर आजको शनिबार त्यस्तो छैन । बिहानै ९ बजेदेखि दिउँसो ३ बजेसम्म देशका २३ स्थानमा जनता भेला आव्हान गरिएको छ ।

भेला आव्हान यस्तोसँग गरिएको छ कि भनिएको छ, निर्मलाका निम्ति न्याय । देशका प्रमुख शहरमा गरिएको भेलाको आयोजक पनि छैनन् । नागरिक समाजका सदस्यहरु भेला भएर निर्मला पन्त हत्यामा संलग्नहरुको खोजी र कारबाही माग भेलाको उद्देश्य हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१० साउनमा कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यामा प्रहरीले प्रमाण नष्ट गरेको भन्दै एसपी डिल्ली विष्टलाई निलम्बन गरेको छ । गृहका सहसचिव हरि मैनालीको संयोजकत्वमा छानबिन समिति बनेको छ । समितिले प्रतिवेदन सरकारलाई बुझाउने तयारी भइरहेको छ ।

निर्मला हत्या प्रकरणमा अशान्त बनेको कञ्चनपुर शान्त बन्ने प्रयासमा रहे पनि यसको प्रभाव देशभर पर्न थालेको छ । देशका अन्य भागका नागरिकमा पनि हत्यारा उम्काउने खेल पो हो कि भनेर आशंका गरिएको छ । कञ्चनपुरमा त प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिमै आपत्ति जनाइएको छ ।

निर्मलाका आमाबाबु काठमाडौं आएका छन् । हत्यारा उम्कन नपाओस् भनेर संसदमा प्रतिपक्षी नेपाली कांग्रेसले समेत यही मुद्दा उठाएर संसद अवरुद्ध गरेको छ । सडकमा सत्तासीन पार्टीकै भ्रातृसंगठन अनेरास्ववियुका नेता कार्यकर्ता निर्मला हत्या प्रकरणमा अपराधी उम्कन नपाओस् भनेर उत्रिएको छ ।

यही बेला नागरिक समाजको स्वस्फूर्त जनता भेला गरिएका छन् । शनिबार देशका २३ स्थानमा हुने भेलाले पनि निर्मला हत्या प्रकरणमा दोषी खोज्न सरकारलाई दबाब दिने भएको छ ।