बाग्लुङ र गुल्मीको सिमानामा रहेको बडीगाड खोला पहिरोले थुनिएपछि स्थानीयबासी त्रसित भएका छन् । ढोरपाटन नगरपालिका र बडीगाडको सीमानामा पर्ने खोला गएराति साढे ११ बजेदेखि थुनिएको हो ।

कुनै पनि बेला बाँध फुट्ने र विपत्ती आउनसक्ने भन्दै सीमा क्षेत्रका बाग्लुङ र गुल्मीका बासिन्दा रातभर जाग्राम बसेका छन् । अहिले पानी ओभरफ्लो भएर बग्न थालेकाले भर्खरै फुट्ने सम्भावना कम रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खोला थुनिएपछि बागलुङका खार र खर्बाङ्ग बजार तथा गुल्मीको मुसिकोट नगरपालिकाका वामी, भुवाचिदी, आँपचौर, बडागाउँको ग्वादीकाचौर, चन्द्रकोट गाउँपालिकाको मजुवा बजार, सत्यवति गाउँपालिकाको जोहाङ्ग खैरेनी, चोरकाटे बजार र रुद्रवेणी बजारका घरहरु उच्च जोखिममा रहेको पौडेलले बताए ।

उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले जोखिममा रहेका खोला नजिकका बस्तीहरुमा माइकिङ्ग गरिरहेको बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले सवैलाई सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।

साथै जिल्ला प्रहरी प्रमुख दिपक बस्नेतले खोला किनारका मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताए । बाग्लुङ्गको बढिघाट गाउँपालिका ७ का वडाध्यक्ष कृष्ण गुरुङ्गका अनुसार मलकट्ठीबाङ्गका करिव एक दर्जन घर डुवानमा परेका छन् ।

बाग्लुङका एसपी दीपक रेग्मीले खोला किनारका बस्तीलाई सतर्क रहन भनिएको बताए । खोला किनारका सिमलचौर, भिङ्गगिठी, खर्बाङ्ग, मजुवा, खारा, चोरकाटे, खैरेनी र रिडी बजारसम्म जोखिम पर्नसक्ने स्थानीयको भनाइ छ । नयाँ पेज बाट