बिष्णुप्रसाद पोखरेल दमक । झापाको कचनकवल गाँउपालिकाको गाँउसभा र केन्द्र सार्ने बिबादले जनप्रतिनिधिहरुबीच फाटो ल्याएको । अध्यक्षले एकलौटी गरेको जनाउदै ४ जना वडाध्यक्ष सहित १४ जना जनप्रतिनिधिहरुले लिखित रुपमा नै गाँउसभा बहिष्कार गरेको घोषणा गरेपछि र आफुहरुको निर्णय गाँउपालिकालाइ जानकारी गराएपछि बिबाद चुलिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेक गाँउपालिकामा वडाध्यक्ष र वडासदस्यमा निर्वाचित जनप्रतिनिधिहरुले गाँउसभा बहिष्कार गरेकाहुन् । अध्यक्ष सहित बहुमत राप्रपाको रहेको छ भने काँग्रेस र एमाले यो गाँउपालिकामा अल्पमतमा रहेको छ । बिरोध प्रजातान्त्रि अधिकारभित्र पर्ने बताउदै गाँउपालिका अध्यक्ष अञ्जार आलमले केन्द्र सार्ने बिषय र गाँउसभामा ल्याइएको बजेट पास हुने बताउनु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा एमाले र नेपाली काँग्रेसले अध्यक्ष आलमले एकलौटी रुपमा काम गरेको बताउदै संघर्ष समिति बनाएर नै आन्दोलन गर्दै आएकाछन् । आन्दोलनको बेवास्था गर्दै गाँउपालिकाका अध्यक्ष आलमले कडा सुरक्षा घेराभित्र नै गाँउसभा गराउनु भएको हो । गाँउसभा स्थल तोकिएको केचनामा रहेको सामुदायिक भवनमा आन्दोलनरत जनप्रतिनिधिहरुको अगुवाइमा नै ताल्चा लागेको थियो ।

कचनकवल गाउँपालिका ६ का वडा अध्यक्ष कुलबहादुर कार्कीले आफुहरुको आन्दोलन र मागलाइ अध्यक्षले ठाडै अस्वीकार गरेकाले अब कानूनी लडाइ लड्ने तयारी गरेको बताउनु भयो । बन्द तथा हड्तालले जनतालाइ दुख दिने भएकाले नीतिगत रुपमा भएका भ्रष्टाचार बिरुद्ध अख्तियारमा जाने र आफुहरुका कुरा प्रदेश एवं केन्द्र सरकारलाइ जानकारी गराउने कार्कीको भनाइ रहेको छ ।

वडा नम्बर ६ का वडा अध्यक्ष कार्की सहित वडा नम्बर ७ का वडा अध्यक्ष भरत राजवंशी, वडा नम्बर ४ का वडा अध्यक्ष प्रमानन्द राजवंशी, वडा नम्बर २ का वडा अध्यक्ष मेखबहादुर भट्टराईले गाँउसभा बहिष्कार गर्नु भएको हो । वडा सदस्यहरु निर्मला पाण्डे, मनमाया भट्टराई, प्रतिमा बोगटी, मन्नतकोमा मियाँ, आयुव मियाँ, उमाशंकर गणेश, रञ्जित लिम्बु, चन्द्रशंकर अधिकारी, धनबहादुर गुरुङ र सुनिता नेपालीले लिखित रुपमा नै सभा बहिष्कार गरेको बताउनु भएको छ ।

गाउँपालिका अध्यक्ष आलमको पक्षमा २४ जना गाँउसभा सदस्यहरु रहेकाछन् । उपाध्यक्ष निमसरी राजवंशी सहित बहुमत सदस्यहरु आफ्नो पक्षमा रहेपछि आलमले गाँउसभा अगाडि बढाएको जनाईएको छ । गाँउसभामा प्रस्तुत हुनका लागि केहि जनप्रतिनिधिहरुलाइ अनुशासनको तालिम सिकाउनु पर्ने अवस्था आएको छ, यो बिषयमा मैले सोचिरहेको छु, आलमले भन्नुभयो । अध्यक्ष आलमले आफ्नै नातेदारको जग्गा लिएर केन्द्र सार्न खोजिएपछि बिरोध शुरु भएको जनाईन्छ । आलमले भने आफुले प्रक्रिया र निर्णय बमोजिम काम गरेको बताउदै आउनु भएको छ ।