बाजुराको एक गाउँपालिकाले मदिरा सेवन परिचय पत्रको व्यवस्था गरेको छ । उक्त परिचय पत्र देखाएर मात्रै मदिरा सेवन गर्न पाइने नियम बनाएको हो । जिल्लाको गौमुल गाउँपालिकाले यस्तो अभ्यास भदौ १ गतेदेखि प्रचलनमा ल्याएको छ। सम्भवतः नेपालमै पहिलो पटक यस्तो अभ्यास थालिएको हो । प्रचलनमा ल्याएको मदिरा सेवन परिचय पत्रबाट मदिरा सेवनले समाजमा व्याप्त समस्या निराकरणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
विकट जिल्ला बाजुराको दश हजार जनसंख्या रहेको गौमुल गाउँपालिकाका ६ वटा वडाहरूमा करीव दुई सयवटा रक्सी पसलहरू छन्।
ती पसलमा जथाभावी रक्सी पिएर गाउँ समाज नै अशान्त बनेपछि यस्तो अभ्यास थालिएको स्थानीय जनप्रतिनिधिले बताउका छन् । गाउँपालिकाका १० वटा पसललाई मात्र मदिरा बिक्री वितरण गर्ने अनुमति दिइएको छ। एक पटकमा एक सय ८० मिलिलिटर मात्र प्रयोग गर्न पाइने, नियमविपरित मदिरा सेवन तथा बिक्री वितरण गरेको भेटिए दुई हजारदेखि चार हजारसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ।
गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ खनालका अनुसार हरेक दिन मदिरा सेवन गरी महिलामाथि हिंसा भएका घटनाको खबर आउने क्रम बढेपछि मदिरा सेवन परिचय पत्र प्रचलनमा ल्याइएको हो ।
परिचय पत्र देखाएर मात्र मदिरा पसलमा राखिएको रजिष्टरमा तोकिएको मात्रा र दस्तखत गरेर मात्र रक्सी पिउन पाइन्छ।
मदिरा सेवनले परिवार मात्र नभई सिंगो समाज बिग्रने चिन्तासँगै ग्रामीण भेगमा अझ जटिल समस्याको रूपमा रहेको मदिरा सेवनलाई फरक ढंगले समाधान गर्न खोजिएको महिला अधिकारकर्मीहरूले बताएका छन्।

महिला अधिकार मञ्चकी सदस्य गिता रोकायाले भनिन्, यो एक महिनाको अवधिमा आपसी विवाद र झगडा पनि भएको छैन।
महिला अधिकारकर्मी कल्पना थापाले मदिरा सेवन परिचयपत्रको प्रयोगले गाउँ नै शान्त भएको बताइन्।
अधिकारकर्मी लक्ष्मी बिक भन्छिन्, मदिरा नियन्त्रणको यो प्रयासलाई हामीले स्वागत गर्न खुशियाली जुलुस समेत निकाल्यौँ। गौमुल गाउँपालिकाले मदिरा सेवन परिचय पत्र देखाएर मदिरा पसल अर्थात् रक्सी भट्टीमा राखिएको रजिष्टरमा तोकिएको मात्रा र दस्तखत गरेर मात्र रक्सी पिउनुपर्ने भएपछि खुलेर आउनेहरूले मात्र रक्सी पिउने गरेका छन्।
यसरी पटक पटक रक्सी भट्टीमा परिचय पत्र देखाएर रक्सी लिनु पर्ने कुराले मदिरा सेवकलाई निरुत्साहित गर्ने र मदिरा सेवनका कारण व्याप्त समस्या कम हुँदै जाने पनि धेरैले विश्वास गरेका छन्। बीबीसी नेपालीको सहयोगमा










