(रासस) ः नागार्जुन–८ को ग्रामीण क्षेत्रका गर्भवतीलाई नियमित गर्भजाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले भीमढुङ्गा स्वास्थ्यचौकीले गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

गर्भवती स्याहार प्रोत्साहन कार्यक्रम सञ्चालनअन्तर्गत सो व्यवस्था गरिएको हो । कार्यक्रमअन्तर्गत पहिलो पटक गर्भजाँच गराउनेलाई एक क्रेट अण्डा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चार पटक गर्भजाँच गराउनेलाई शुरुको गर्भजाँचको समयमा एक क्रेट अण्डा, नौ महिनाको समयमा थप एक क्रेट अण्डा, दन्तमञ्जन एक सेट, आयोडिनयुक्त नून एक प्याकेट, नुहाउने साबुन एक, लुगाधुने साबुन एक र चना एक केजी प्रदान गरिने भीमढुङ्गा स्वास्थ्यचौकी प्रमुख स्वास्थ्य सहयोगी प्रकाश खतिवडाले बताउनुभयो ।

गर्भवतीको पोषणको अवस्थामा सुधार ल्याउन र गर्भवती अवस्थामा आउन सक्ने समस्याको बेलैमा पहिचान तथा उपयुक्त व्यवस्थापन गर्न कार्यक्रम शुरु गरिएको स्वास्थ्य सहयोगी खतिवडाले जानकारी दिनुभयो ।