उदयपुर । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत उदयपुरले ६ दिनको म्याद दिएको छ । आइतबार अबेर जिल्ला अदालत पुर्याइएका प्रकाण्डलाई प्रमुख जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बम काण्डको अभियोगमा अनुसन्धान गर्न प्रहरीलाई ६ दिन म्याद दिएको हो ।

प्रकाण्डलाई चैत २८ गते त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला नजिकै हवाई फिल्ड चौरमा भएको बम विष्फोटमा दोषी बनाइएको छ । भैँसीको पाडा चराउँदै गरेका स्थानीय १४ वर्षीय बालक पारस राईले झोलामा कालो बस्तु देखेको र हेर्न खोज्दा विष्फोट भई घाइते भएका थिए । यही आरोपमा प्रकाण्डलाई काठमाडौंको सर्वोच्च अदालत परिसरबाट शुक्रबार पक्राउ गरी जिल्ला अदालत उदयपुरमा उपस्थित गराइएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सञ्चारकर्मीसँग प्रकाण्डले भन्नुभयो, ‘सरकार देश र जनताको प्रतिनिधित्व नभएर विदेशी मालिकको दलाल भएको छ, सरकार विदेशी दलाल प्रतिक्रियावादीको स्वार्थका निम्ति बनेको पुष्टि भएको छ ।’ प्रकाण्डले भन्नुभयो, ‘मलाई ६ वटा जिल्लामा नौ वटा मुद्धा लगाइसकिए पनि कुनै मुद्दाको पुष्टि हुनसकेको छैन ।’