सार्वजनिक यातायातका साधनको भाडा बढ्ने भएको छ । यातायात व्यवसायीले तत्काल भाडा बढाउन खोजेको भएपनि यातायात व्यवस्था विभागले नमानेपछि भाडा बढाउने म्याद दशै र तीहारपछि सरेको हो । चाडपर्वको मुखमा भाडा वृद्धि गर्दा नकारात्मक सन्देश जाने भन्दै मन्त्रालयले तत्काल भाडा वृद्धि गर्न सहमति नदिएको हो । सहमति नपाएपछि विभागले दसैँ–तिहारपछि भाडा समायोजनको तयारी गरेको छ ।

वैज्ञानिक भाडादर समायोजन समितिले गृहकार्य थालिसकेको छ । समितिले भाडा समायोजनका लागि आवश्यक गृहकार्य अघि बढाइसकेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यातायात व्यवसायीले वेलावेलामा सरकारलाई भाडा बढाउन दबाब दिँदै आएका छन् । ०६९ सालदेखि सरकारले भाडा समायोजन नगर्दा आफूहरू मर्कामा परेको व्यवसायीहरूको गुनासो छ । विभागले भने ०७२ सालमा इन्धनको मूल्यको आधारमा भाडादर समायोजन भएको बताउँदै आएको छ ।

दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्न सरकारले आग्रह गर्दै दुईपटक गरेका वार्तामासमेत व्यवसायीले भाडा समायोजनको विषय एउटा मागका रूपमा उठाएका थिए । सोमबार भएको वार्तामा मूल्य समायोजन गर्न सरकारी पक्षले सहमति पनि जनाइसकेको छ । तर, तत्काल मूल्य बढाउन भने सरकार तयार भएको छैन । त्यसैले व्यवसायीले चाडपर्वपछि मूल्य समायोजन गर्ने कुरामा पनि सहमति जनाएका छन् ।