बिष्णुप्रसाद पोखरेल दमक । झापा जिल्लालाइ एकिकृत कृषिको माध्यमबाट उत्पादन बढाई आत्मर्निभर बनाउने र गुणस्तरीय उत्पादन गरी मानब स्वास्थ्य रक्षा गर्ने उदेश्य झापाका सबै नगरपालिका तथा गाँउपालिकाहरुले एकिकृत कृषि परियोजना लागु गर्ने भएकाछन् ।

नगरपालिका र गाँउपालिका प्रमुखहरुको भेलाले यस्तो निर्णय गरेको जनाईएको छ । परियोजनालाइ अघि बढाउनका लागि समन्वय गर्नका लागि दमक नगरपालिका प्रमुख रोमनाथ ओलीको संयोजकत्वमा कार्यदल समेत बनाईएको छ । गुणस्तरीय उत्पादनका साथ रोजगार सृजना गर्दै खाद्यान्नको आत्मनिरर्भता कायम राख्न एकीकृत रुपमा स्थानीय तहहरुले समन्वय गरेर काम गर्न यस्तो कार्यदल बनाइएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यदलका प्रमुख एवं दमक नगरपालिका प्रमुख ओलीका अनुसार आउदो १२ बर्ष भित्रमा कृषि बेरोजगार हटाई कृषि उत्पादनलाई गुणस्तरिय बनाई पर निर्भरता हटाउने उदेश्यले काम अघि बढाइने बताउनु भयो । यो उदेश्य पुरा गर्न १५ वटै स्थानीय तहले कृषि उत्पादन क्षेत्र तोक्ने, दैनिक कार्य सम्पादन गर्न जिल्ला स्तरको वा क्षेत्रको कृषि सहकारी स्थापना गर्ने जस्ता बिषयमा छलफल भएको उहाँले जनाउनु भयो ।

नगरप्रमुखहरुको छलफलमा यस्तो सहकारीमा जिल्लाका अगुवा कृषक समुह, व्यक्ति सामेल हुने र सवै स्थानीय तह त्यसको सल्लाहकार र संरक्षक बन्ने समेत प्रस्ताव गरिएको छ । कृषि क्षेत्रलाइ आत्मनिर्भर परिणाम मुखि बनाउन सहकारी नै सबैभन्दा उपयुक्त माध्यम हुने भएकाले यो निष्कर्षमा आफुहरु पुगेको पनि कार्यदल प्रमुख ओलीले जनाउनु भयो ।

सहकारीको माध्यमबाट नै उत्पादनको लागि क्षेत्र छनौट गर्ने, माटोको लेवल मिलाउने र माटोको गुणस्तर सुधार्ने, वालीको छनौट गर्ने, सिचाई प्रवन्ध मिलाउने, आवश्यक ज्ञान, सीप, प्रविधिविस्तार गर्ने, यन्त्र उपकरणको प्रवन्ध गर्ने, जैविक मल र जैविक विषादी उत्पादन गर्ने लगायतका बिषयमा छलफल भएको कन्काइ नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भयो ।

१५ वटै स्थानीय तहले भण्डारण तथा प्रोशेसिङ्ग केन्द्र समेत स्थापना गर्नेमा जोड दिएकाछन् । वाली भण्डारण गर्न तयार भएपछि सहकारीले स्थापना गर्ने उत्पादन इकाइले सुचना दिने र भण्डारणको काम गर्ने गरी तयारी गरिने छ ।

जिल्ला स्तरको कार्य क्षेत्र भएको सहकारी गठनसंगै उत्पादनमा जोडीएका कृषकहरुलाई सदस्यस्यता विस्तार, यसका लागि आवश्यक पर्ने नियम, कानून, कार्यविधि, निर्देशिका, आचार संहिता निर्माण गर्ने गरीको निर्णय भएको कमल गाँउपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।