काठमाडौं – असैह्य प्रसव पीडा छल्न शल्यक्रियामार्फत् सुत्केरी हुन चाहने गर्भवती महिलाको संख्या बढेको छ । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका निर्देशक एवं प्राध्यपक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो समय शल्यक्रिया गरेर बच्च जन्माउन चाहनेको संख्या बढ्दै गएको हो ।
‘आजभोलि मानिसहरू पीडा सहनै चाहँदैनन्, डाक्टरले डेलिभरी गराइदिने हो भन्ने सम्झन्छन्, त्यसैले सामान्य अवस्थामा पनि शल्यक्रिया गरेर बच्चा जन्माउन चाहनेहरू बढेका छन् ।’
सरकारी अस्पतालभन्दा निजी अस्पतालहरूले गर्भवतीको इच्छाअनुसार सहजै शल्यक्रिया गरिदिने भएकाले यस्तो इच्छा राख्नेहरू निजी अस्पतालतर्फ आकर्षित हुने गरेका छन् । तोकिएको शुल्क तिरेपछि सहजै आफूले भनेजस्तो गराउन सकिने भएकाले निजी अस्पतालमा शल्यक्रिया गरेर सुत्केरी गराउने क्रम बढेको डा. गौतमको भनाइ छ ।
‘नर्मल डेलिभरी त दिउँसो, राति जुनसुकै समयमा पनि हुनसक्छ, तर अप्रेसन त डाक्टरले समय मिलाएर गर्न सक्छन् । दिउँसोमा अप्रेसन गरिदियो राति आउनै परेन,’ उनले भने, ‘त्यसैले पनि निजी अस्पतालमा शल्यक्रिया गरेर डेलिभरी गराउनेहरू बढी छन् ।’
नर्मल डेलिभरी गराउँदा यौनाङ्ग च्यातिने र यसले यौन जीवनमा असर पर्ने भन्दै शल्यक्रियामार्फत सुत्केरी हुन चाहनेहरू पनि छन् । नर्मल डेलिभरीबाट यौन जीवनमा असर पर्ने कुरा भ्रम मात्रै भएको डाक्टर गौतम बताउँछन् ।
‘नर्मल डेलिभरीले पनि यौन जीवनमा कुनै असर पर्दैन । बच्चा जन्माएपछि यौन जीवन आनन्दमय हुँदैन भन्नु भ्रम मात्रै हो,’ उनले भने ।
शल्यक्रियामार्फत् सुत्केरी हुनेहरूको संख्या बढ्नुको अर्को कारण ढिला बच्चा जन्माउने चाहना पनि हो । पढाई सकेर आफ्नो करियर बनाएर मात्र विवाह गर्ने र त्यसपछि ढिला सन्तान जन्माउनेहरूमा जोखिम बढी हुन्छ ।
उमेर छिप्पिँदै गएपछि बच्चा जन्माउँदा आमा र बच्चा दुवैलाई जोखिम हुने डा. गौतमको भनाइ छ । यस्तो अवस्थामा चिकित्सकहरू पनि जोखिम मोल्न चाहँदैनन्, र शल्यक्रिया नै रोज्छन् ।
कस्तो अवस्थामा शल्यक्रिया आवश्यक ?
आमाको पाठेघरको मुखभन्दा शिशुको टाउको ठूलो भएमा
साल पाठेघरको तल्लो भागमा भएको अवस्थामा
पाठेघरभित्र शिशु तेस्रो पोजिसनमा भएमा
शिशुको मुटुको चाल गडबड भएमा
एचआईभी, क्यान्सर लगायतका दीर्घ रोग भएकी गर्भवती भएमा
प्रसव पीडा सहँदा आमाको ज्यान जोखिम हुने भएमा मात्र अस्पतालले शल्यक्रियामार्फत् सुत्केरी गराउनुपर्ने हुन्छ ।
शल्यक्रियामार्फत् सुत्केरी गराउँदा यस्तो जोखिम
धेरै रगत बग्न सक्छ ।
घाउ पाक्न सक्छ ।
शल्यक्रिया गरेर सिलाएको ठाउँमा फुस्किएर पेट फेरि खोल्नुपर्ने हुनसक्छ ।
आमा बच्चालाई संक्रमणको जोखिम हुन्छ ।
नर्मल डेलिभरी राम्रो
नर्मल डेलिभरीले आमा र शिशु दुवैलाई राम्रो गर्ने डा. गौतमको भनाइ छ । नर्मल डेलिभरी गराउँदा आमाले मात्रै नभइ शिशुले पनि शक्ति निकाल्नुपर्छ । आमाको पाठेघरबाट बाहिर निस्किन शिशुले बल गर्दा उसको शारीरिक र मानसिक अवस्था पनि बलियो हुने डा. गौतम बताउँछन् ।
‘अप्रेसनभन्दा नेचुरल्ली डेलिभरी गर्नु सय गुणा ठीक हो,’ डा. गौतमले लोकान्तरसँग भने, ‘सामान्य अवस्थामा नर्मल डेलिभरी नै गराउनुपर्छ । अझै पहिलो सन्तान हो भने त सकेसम्म प्राकृतिक डेलिभरी नै गराउनुपर्छ ।’
दुई पटकभन्दा बढी शल्यक्रिया गर्दा महिलाको ज्यान जोखिममा पर्नसक्छ । सोही कारण पनि नर्मल डेलिभरी नै उपयुक्त हुने उनको सुझाव छ ।



