कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कार–हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय छानबिन समितिले आशंकाको सुई नेपाली सेनातिर तेर्स्याएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘‘निर्मलाको शव पाइएको स्थान नजिकै सेनाको ब्यारेक रहेछ, कतिपय सूचना सेनाबाटै घटना भएको हुनसक्छ भन्ने पनि आएका छन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तत्कालीन एसपी डिल्लीराज विष्ट भएकै बेला साउन १० गते बाहिर निस्किएका सेनाको विषयमा पनि अनुसन्धान गर्न सुझाव दिइएको थियो । एक प्रहरीका अनुसार सेनाका केही जवानको मोबाइल नम्बर पनि अनुसन्धानका लागि सिआइबीको टोलीलाई उपलब्ध गराइएको थियो ।

निर्मलाको बलात्कारपछि हत्या कसले गर्यो भन्ने अझै खुल्न सकेको छैन । घटनाको अनुसन्धानमा प्रहरीको गल्तीका कारण अनुसन्धान झन्झटिलो बनेको प्रहरी अधिकृतको भनाइ छ । झण्डै २ महिना पुग्न लाग्दा पनि प्रहरीले निर्मला हत्याको सुराक प्राप्त गर्न सकेको छैन । प्रहरी अधिकारीले अनुसन्धान जारी रहेको बताउँदै आएका छन् । प्रहरीले शंकास्पद विभिन्न व्यक्तिहरुको ‘कल डिटेल’ हेरिरहेको बताइएको छ ।

यसैबीच, हत्याकाण्डको अनुसन्धानमा विभिन्न तहबाट संलग्न प्रहरी अधिकारीको मोबाइल जफत गरिएको छ । घटनामा प्रहरी अधिकारीहरुको भूमिकाबारे अनुसन्धान गरिरहेको डीआईजी (प्रस्तावित एआईजी) धिरु बस्न्यातको टोलीले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित १९ जनाको मोबाइल जफत गरेको हो ।

टोलीले प्रहरी प्रधान कार्यालयमै बोलाएर तत्कालीन एसपी विष्टसहित कञ्चनपुर प्रहरीका १६ जना र सिआईबीका डिएसपी अंगुर जिसीसहित ३ जनाको मोबाइल तथा सिमकार्ड जफत गरेको हो । कञ्चनपुरबाट मुद्दा शाखामा कार्यरत प्रहरी, सिभिल टोलीमा खटिएका प्रहरी, मुचुल्का उठाउने कार्यमा रहेका प्रहरीलाई पनि काठमाडौं झिकाइएको छ ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा संग्लन ६ जना प्रहरी यसअघि नै निलम्बनमा परिसकेका छन् । निर्मला बलात्कार र हत्या अभियोगमा प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्ट नक्कली अभियुक्त भएको पुष्टि भएपछि प्रहरी अधिकारीहरु निलम्बनमा परेका थिए । गत साउन १० मा घरबाट साथीको घरमा निस्किएकी भीमदत्त नगरपालिका २ महुलियाकी १३ वर्षीय किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

‘प्रहरी अधिकारी र अन्य प्रहरीको मोबाइल कनेक्सनको अध्ययन, उनीहरुले केही डाटा मेटाएको भए त्यसको ‘रिकभरी’ गर्ने र कल डिटेलका लागि मोबाइल तथा सिमकार्ड जफत गरिएको हो,’ एक प्रहरी अधिकृतले भने ।

– १२खरीका लागि केशवराज जोशी एभरेस्ट दैनिक बाट